Logo

राष्ट्रसंघ महासभामा नेपाल : मन्त्रीले नेतृत्व गर्ने, उपप्रधानमन्त्री सहभागी



काठमाडौं १ असोज । उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन् ।

महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । मन्त्रिपरिषद्को बरियातामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा । महासभाको प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन एउटा हो । राष्ट्रसंघीय नियोगका एक अधिकारीका अनुसार यस्तो कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभाअन्तर्गतको स्वास्थ्यसम्बन्धी छलफलमा संलग्न हुनेछन् ।

दुई वर्षअघि ७२ औं महासभामा पुगेका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रात्रिभोजमा जाँदा ढोकाबाट फर्कनुपरेको थियो । त्यतिबेला टोली नेतृत्व तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उनी त्यसभन्दा पछि जाँदै थिए । त्यही भएर महरा भित्र छिर्न पाएका थिएनन् ।

परराष्ट्र सचिव शंकरदास बैरागीले उपप्रधानमन्त्री उच्चस्तरीय कार्यक्रममा सहभागी हुने र परराष्ट्रमन्त्री महासभामा सरिक हुने बताए । स्वास्थ्यका विषयमा उपप्रधानमन्त्री यादव र जलवायु परिवर्तन एवम् वातावरणसम्बन्धी बैठकमा मन्त्री शक्ति बस्नेतले भाग लिनेछन् । नेपालले राष्ट्रसंघको ११ औं महासभादेखि सहभागिता जनाउँदै आएको छ । सन् १९५५ को डिसेम्बरमा सदस्यता लिएपछि पछिल्लो वर्षदेखि नेपाल लगातार सहभागी छ ।

महासभामा सहभागी हुन पनि सरकारले दलगत प्रतिनिधित्व गराएको छ । पूर्व एमालेका तर्फबाट ज्ञवाली, पूर्व माओवादीबाट वनमन्त्री शक्तिबहादुर बस्नेत र सरकारको अर्को साझेदार समाजवादी पार्टीबाट यादव जाने भएका हुन् ।

सेप्टेम्बरको तेस्रो मंगलबारदेखि अमेरिकाको न्युयोर्कमा महासभा सुरु हुने छ । त्यसको एक सातापछि मात्र सम्बोधनमा नेपालको पालो आउनेछ । राष्ट्र एवं सरकार प्रमुख, उपराष्ट्रपति, उपप्रधानमन्त्री हुँदै मन्त्री स्तरमा पुग्ने भएकाले नेपालको समय पछि परेको हो ।

सहभागी तीसभन्दा बढी

सरकारले महासभामा नेपालको टोली सानो देखाउन फरक–फरक समूह बनाएर विषयगत मन्त्री र सांसदलाई सहभागी गराउन लागेको छ । महासभामा दलका नेता र सरकारी अधिकारी गरी तीसभन्दा बढी जाँदै छन् । परराष्ट्रमन्त्री नेतृत्वको टोलीमा १२, यादव र बस्नेतको टोलीमा ६÷६ र अन्य सांसद सहभागी हुने कार्यक्रम छ । हरेक सत्रमा सहभागी हुन न्युयोर्क पुगिरहने टोली तयार भइरहेको संसद् सचिवालयका एक अधिकारीले बताए । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्