Logo

बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब



धनुषा, असोज १ । पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरूले दबाब दिएको पीडितपक्षले बताएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित वैशाखमा बलात्कृत भएकी बालिकाको बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब आएको पीडितपक्षले आरोप लगाएको हो।

वैशाख १५ गते पीडित बालिका घरमा पढिरहेको बेला घरको पछाडिको पर्खालबाट हामफाल्दै बटेश्वर गाउँपालिका–४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिका बस्दै आएका ४२ वर्षीय छिमेकी राजकुमार साहले बालिकालाई बलात्कार गरेका थिए।

घटना भएदेखि नै विभिन्न प्रकारको दबाब आइरहे पनि स्थानीयको सहयोगमा पीडितपक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा मुद्दा दार्ता गराएपछि आरोपित साह पक्राउ परेका थिए।

घटना अदालतसम्म पुगेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगी पँजियारले घटना दबाउन मुद्दा फिर्ता लिन दबाब दिँदै आएको पीडितपक्षको आरोप छ।

घटनापश्चात अभियुक्तलाई प्रहरीले पक्राउ नगर्दा त्यतिबेला पनि स्थानीयले मन्त्री महासेठ र मेयर पँजियारविरुद्ध प्रदर्शनमा गरेका थिए। उनीहरू साहसँग सम्बन्ध रहेकाले घटना दबाउन खोजेको र मुद्दा फिर्ता लिन दबाब दिएको पीडितपक्षको भनाइ छ। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।



प्रतिक्रिया दिनुहोस्