Logo

पनौती सङ्ग्रहालयमा विदेशी पर्यटकको आगमन बढ्यो



बनेपा,१ असोज । करीब दशवर्ष अगाडिदेखि स्थानीय जनसमुदायको सक्रियतामा स्थापना भएको पनौती सङ्ग्रहालयमा आन्तरिक भन्दा बाह्य पर्यटकको आगनमको सङ्ख्या बढिरहेको पाइएको छ । सङ्गहालयका कर्मचारी तथा पनौती सङ्ग्राहलय व्यवस्थापन समितिका सदस्य–सचिव राजेन्द्र महाजुका अनुसार आर्थिक वर्ष २०७४/७५ मा तीन हजार १५१ सार्क राष्ट्रका नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

उनका अनुसार विदेशी पर्यटकको सङ्ख्या वर्षेनी वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा भने भूकम्पका कारण पर्यटकको सङ्ख्या घटेका कारण कम भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा दुई हजार ९४८ रहेकामा २०७२/७३ मा एक हजार एक सय २८ र २०७३/७४ मा दूई हजार ४१५ जनाले अवलोकन गरेका थिए ।

वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीको संयोजकत्वमा गठन भएको सङ्ग्रहालय व्यवस्थापन समितिमा वडाका सदस्य, नगरपालिकाका प्रतिनिधि, त्यस आसपासमा रहेका विद्यालय, सङ्ग्रहालयका कर्मचारी सदस्य–सचिव रहने गरी गठन गरिएको छ । बिहानदेखि बेलुकासम्म खुल्ला रहने सङ्ग्रहालयमा बिहान र बेलुका गरी दुई समूहका लागि छ कर्मचारीले आवश्यक सञ्चालन र रेखदेख गर्दै आएका छन् ।

“यो सङ्ग्रहालय पूर्ण सरकारी पनि होइन, पूर्ण निजी पनि होइन, यहाँ उठेको रकमलाई व्यवस्थित कोष बनाएर राखिएको र त्यही कोषबाट उठेको रकमबाट काम गर्नेहरुको न्यूनतम खर्च चलाउँदै आइरहेका छौं”, व्यवस्थापन समितिका सदस्य–सचिव महाजुले भने, “केही ज्ञान प्राप्त हुने र समाजका लागि केही सहयोग गरौं भन्ने उद्देश्यले स्वयसेवीका रुपमा काम गरिरहेका छौं ।” विसं २०६७ फागुन २० गतेबाट सर्वसाधारणका लागि खुला गरिएको सङ्ग्रहालयमा पनौतीमा पुरातात्विक, सांस्कृतिक, धार्मिक र पुराना ऐतिहासिक वस्तुको सङ्कलन गरी स्थानीय बासिन्दाको सहयोगमा स्थापना भएको हो ।

पछिल्लो समयमा पुरातत्व विभागबाट नगरपालिकाको समन्वयमा त्यहाँका मन्दिर पुनःनिर्माण हुँदाका सामान तथा स्थानीयवासीसँग सङ्कलन गरी ल्याएका सामान संरक्षित गरी राखिएको व्यवस्थापन समितिले जनाएको छ । “सङ्ग्रहालय भनेको विदेशीलाई देखाउने मात्रै नभइ हाम्रै पूर्खाले इतिहासलाई लिपिबद्ध गरेर नयाँ पुस्तालाई हस्तान्तरण गरिएको जीवनशलीको माध्यम पनि हो”, उनले भने, “यसमा पूर्खाले प्रयोग गरेका भाँडावर्तन पनि यहाँ छन्, तर त्यो अहिलेको पुस्ताले प्रयोग गर्दैन, त्यो इतिहास भइसकेको वस्तुलाई पनि यहाँ राखेर अहिलेको पुस्तालाई पनि सिक्ने माध्यम बनको छ ।”

यसरी ऐतिहसिक महत्व बोकेको पनौती र त्यसको ऐतिहासिक महत्व बोकेको सङ«ग्रहालयलाई नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी अझ पर्यटकलाई आउने माध्यम बनाउन समिति लागि परेको जनाइएको छ । पनौती नगरपालिकाले भ्रमण वर्ष लक्षित कार्यक्रम आयोजना गरी त्यसलाई सफल बनाउन पनौती पर्यटन समिति गठन गरेको र त्यसले त्रिवेणीघाट ईन्देश्वर मन्दिरलगायत सिङ्गो पनौतीलाई नै समेटेर पर्यटकीय क्षेत्रको पहिचान र पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने विषयमा प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख भीम न्यौपानेले बताए ।- रासस



प्रतिक्रिया दिनुहोस्