Logo

स्वस्तिमा र पूजाको महाभिडन्त



अभिनेत्री स्वस्तिमा खड्का र पूजा शर्माको चलचित्र एकैदिन रिलिज हुने भएको छ । अभिनेत्री पूजाको मुख्य भूमिका रहेको चलचित्र “पोइ पर्यो काले” र स्वस्तिमाको चलचित्र “घामड शेरे” एउटै मितिमा प्रदर्शन गर्न कस्सिएका छन् । चलचित्रको पोस्टरसहित प्रदर्शन मिति आउँदो ८ कात्तिक घोषणा गरिएको हो ।

शिशिर राणा निर्देशित चलचित्र “पोइ पर्यो काले” मा पूजासँगै सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठलगायतको अभिनय छ भने हेमराज विसी निर्देशित चलचित्र “घामड शेरे” मा स्वस्तिमाले आफ्नो श्रीमान् निश्चल बस्नेतसँग रोमान्स गरेकी छिन् । चलचित्रको फस्टलुकमा देखाइएको अभिनेता तथा निर्देशक निश्चलको धुस्रेफुस्रे मुहारले धेरैको ध्यान केन्द्रीत गरेको छ ।

करिब एक महिनादेखि स्वस्तिमाको ‘२० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न सक्नुपर्छ ।’ भन्ने भनाइले पूजासँगको सम्बन्ध बिग्रिएको छ । उनले पूजालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै ठूलै हल्लाखल्ला भयो । तर, अभिनेत्री स्वस्तिमाले आफूले कसैप्रति लक्षित गरेर उक्त बयान नदिएको स्पष्टिकरण दिँदै आएकी छन् । यसैक्रममा, पूजा र स्वस्तिमा एकै दिन बक्सअफसमा एकसाथ देखापर्ने भएका छन् ।

निर्देशक राणाले चलचित्र “पोइ पर्यो काले” निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई सोचेर कथा तयार पारेका थिए । उनीहरुले चलचित्र गर्ने इच्छा नदेखाएपछि अभिनेत्री पूजा र सौगातलाई चलचित्रको लागि रोजेको हो । यसकारण पनि दुवै चलचित्र एकअर्काको लागि प्रतिस्पर्धी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्