Logo

गोली हानाहानपछि उत्तर कोरियाका दुई डुंगा रुसको नियन्त्रणमा



रुसले उत्तर कोरियाका दुई डुंगा नियन्त्रणमा लिएको छ । माछा मार्दै रुसको समुन्द्री क्षेत्रमा प्रवेश गरेको भन्दै डुंगा नियन्त्रणमा लिएको हो ।
रुसको समुन्द्री क्षेत्रमा प्रवेश गरेको डुंगामा ८० जना रहेको रुसी समाचार संस्था तासले जनाएको छ । रुसी समुन्द्र तटको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा गोली हानाहान भएको थियो । त्यस क्रममा तीनजना रुसी सुरक्षाकर्मी घाइते भएको उल्लेख छ ।

उत्तर कोरियाले घटनाबारे कुनै प्रतिक्रिया नजनाएपनि रुसी विदेश मन्त्रालयले घटनाबारे गम्भीरता देखाएको छ । उसले उत्तर कोरियाको कुटनीतिक नियोगलाई जानकारी गराएको जनाएको छ ।

कोरियाली प्रायद्वीप, रुस र जापानबीचको समुन्द्रमा पर्ने यामाटो तट नजिकै दुईवटा डुंगाले ११ मोटरबोटसहित माछा मारिरहेका थिए । तटबाट ३७० किलोमिटर दुरीमा घटना भएको थियो ।

पछिल्लो समय रुस र उत्तर कोरियाबीच डुंगा नियन्त्रणमा लिने क्रम बढेको छ । यसअघि उत्तर कोरियाली रुसी डुंगा नियन्त्रणमा लिएको थियो । रुस र उत्तर कोरियाबीच निकै घनिष्ठ सम्बन्ध भएपनि समुन्द्री स्रोतको विषयमा विवाद पर्ने गरेको छ ।-एजेन्सी Photo Source: RT.com



प्रतिक्रिया दिनुहोस्