Logo

नेकपा सचिवालय बैठक भोलि विहान, ओली–प्रचण्डबीच आजै छलफल



काठमाडौं, १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि विहान ९ बजे बस्ने भएको छ । भोलिको बैठकलाई केन्द्रमा राखेर आज साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । पार्टी एकताका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यसहित भोलि सचिवालय बैठक बस्दैछ ।

भोलि हुने सचिवालय बैठकमा ‘एक व्यक्ति, एक जिम्मेवारी’ मा जानेबारेपनि छलफल हुने बुझिएको छ । पछिल्लो समय नेकपाको सचिवालय बैठक सर्दै आएको छ । प्रधानमन्त्री उपचारबाट फर्किएपछि नेकपाको बैठक राम्रोसँग बस्न सकेको छैन् । प्रधानमन्त्री ओली विस्तारै सार्वजनिक कार्यक्रममा सरिक भएका छन् ।

सिंगापुरमा दुई साता लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पहिलोपटक दुईओटा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान संसद भवन निर्माणकार्यको शिलान्यास गर्न सिंहदरबार परिसर पुगे भने राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा पनि सहभागी भए ।

गएको भदौ २० गते सिंगापुरबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटारमै आराम गर्ने गरेका छन् । स्वदेश फर्किएपछि उनले बालुवाटारमै पार्टीको सचिवालय बैठक राखे भने एकपटक प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर नेपाल–भारत पेट्रोलियम पाइपलाइनको सुरुआत गरे ।



प्रतिक्रिया दिनुहोस्