Logo

गणतन्त्रमाथि को-को बाट खतरा



रिपोर्टर्स नेपाल विश्लेषण । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कमै बोल्छन् । उनले बुधबार सनसनीपूर्ण भाषण गरे त्यो पनि राजाधानीस्थित पद्मकन्या क्याम्पसमा । उनले गणतन्त्रमाथि खतरा आएको बताए । देशमा गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निभाएको नेपाली काँग्रेसको सभापतिको भनाई त्यसै आएको होइन ।

गणतन्त्र स्थापनाका लागि एक दशक सशस्त्र जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध कडा अभिव्यक्ति दिन थालेकाछन् । पूर्व राजालाई नागार्जुनबाट हटाउने देखि गणतन्त्रमाथि चुनौती दिनेहरुको प्रतिवादन गर्न समेत भनेका छन् । नेकपाकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजा फर्काउन खोज्नेहरुलाई चेतावनी दिएका छन् ।पाका कम्युनिष्ट नेता चित्रबहादुर केसी देखि बुद्धिजीवीहरु सम्मले गणतन्त्रमाथि खतराको कालो बादल मडारिएको बताइसके । यो पक्कै त्यतिकै भनिएको होइन ।

यी अभिव्यक्तिहरु यति बेला आइरहेका छन् जतिबेला राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । महङ्गीले चुचुरो छोइसकेको छ । जताततै करको मारमा परेका छन् जनता । परिवर्तनको नाम भाकेर मात्र जनता सन्तुष्ट हुँदैनन् । अहिले परिवर्तनको नाम लिंदै जनतालाई निचोर्ने गतिविधि भइरहेको छ । यसबाट उत्पन्न असन्तुष्टी व्यवस्थाविरुद्धकै असन्तुष्टि बन्नसक्ने खतरा बढेको छ ।

जतिसुकै चेतावनी दिएपनि पूर्व राजालाई विना सक्रियता लाभ पुगिरहेको छ । उनी अहिले चुपचाप छन् । तर, उनीप्रतिको सहानुभूती बढ्दो छ । यसका पछाडि उनका कुनै लोकप्रीय देन होइन बरु सत्तामा बसेकाको गलत गतिविधि कारण हो ।

दुरदराजका गाउँसम्म जनता महङ्गीको मारमा मात्र परेनन् आफूले निर्वाचित गरेका जनप्रतिनिधिको शोषणमा परे । उर्लाबारीमा जनप्रतिनिधि लड्दा दुई महिनासम्म जनताको नागरिकता समेत बनेन । जनप्रतिनिधिहरु कोही विगतमै स्रोत दोहोन गर्ने ठेकेदार थिए त कोही पछिल्लो समय ठेकेदारमा परिणत भएका छन् । विकसित घटनालाई सर्वसाधारणले नजिकबाट नियालिइरहेका छन् ।

संघीयताबाट के के नै दिउँला जस्तो गरेपनि आखिर महङ्गी र करको भारी बोकाएको जगजाहेर भइसकेको छ । जतिसुकै अधिकारको कुरा गरेपनि खुकुरीको चोट अचानेलाई थाहा हुन्छ । जनता अचानो बनाइएका छन् र शासनसत्तामा बस्नेहरु खुकुरी । चोट जनताले खाएका छन् ।
वितृष्णा यो हदसम्म बढिसकेको छ कि जनता कोही आओस् र नयाँ परिस्थिति निर्माण गरोस् भन्नेमा पुगिसके । कतिपयलाई परिवर्तनका लागि सडकमा आउनु पछुतो भइसकेकोछ । यसका पछाडि राजनीतिक दलका नेताहरुको अपरिपक्व र अदुरदर्शी गतिविधि कारण बनेको छ ।

मङ्गले आफ्नै ढंगले जस्तै भएको छ । तर, नेताहरु प्रतिगामी र प्रतिक्रियावादी सक्रिय हुनथाले भन्दै चिच्याइरहेछन् । सत्ता नेताहरुको हातमा छ । जो सत्ताबाहिर छन् उनीहरु ज्नतामा बढ्दो असन्तुष्टिबाट आफै माहोल बन्नेमा ढुक्क छन् । परिस्थिति त्यस्तै बन्दै गएको छ ।

देशमा वितृष्णा कति बढिसकेको छ भन्ने तथ्य रवि लामिछाने प्रहरी हिरासतबाट छुट्दा चितवनमा ओइरिएको भीडबाट बुझ्न सकिन्छ । ज्ञानेन्द्र शाहीले मन्त्री योगेश भट्टराईलाई अराजक व्यवहार देखाउँदा उनकै पक्षमा महोल देखिएको तीतो सत्य हो । सत्ताको विरोध गर्नेहरु रातारात नायक जस्तै भएका छन् । भलै यो क्षणिक किन नहोस् ।

यी विकसित घटनाक्रम केलाउँदा नेपालमा गणतन्त्र भर्सेस राजसंस्थाको परिस्थिति निर्माण हुने त होइन ? राजनीतिक रङ्गमञ्चमा कमल थापाले सबै हटाउने प्रजातन्त्रको बहस छेडिसकेका छन् । यो सफल हुने नहुने अलग विषय हो तर देश यही महोलतर्फ बढ्न खोज्दैछ । धर्मनीरपेक्ष र हिन्दु राष्ट्र वा धार्मिक स्वतन्त्रताको बहस पेचिलो भइसकेको छ । अब कसैले यसलाई बेवास्ता गरेर जाने अवस्था नबन्न सक्छ । दलहरुभित्र यो बहसको आगो भित्र भित्र सल्किसकेको छ ।

अब गणतन्त्रमाथि खतरा बढेको कसैबाट लुकेको छैन । तर, खतरा बढाउने भूमिका गणतन्त्रवादीबाट नै भएको छ । उपलब्धि व्यक्तिगत हितका लागि उपयोग गर्ने होइन बरु देशको समग्र हित र राष्ट्रिय एकताका लागि हुनुपर्ने हो । यसो हुन सकेन । जतिसुकै चित्त बुझाउन खोजेपनि परीक्षण भइसकेका नेताहरुबाट नेपाली जनता विश्वस्त हुने अवस्था छैन । नेपाली समाज र जनताको चरित्र नै छ कि कुनै व्यवस्था नआउञ्जेल ल्याउन खोज्ने र ल्याएपछि फाल्न खोज्ने । यो निरन्तरको अभ्यास हो भन्ने तथ्य २००७ देखि हालसम्मको घटनाक्रमले पुष्टि गर्दछ । यसमा परिवर्तन ल्याउने हो भने गणतन्त्रका पक्षधरहरुले बेलैमा सुझबुझ अपनाएर देशको हितमा सुरवीर बनेर कदम चाल्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्