Logo

कमल थापालाई संसदको झिनो आशा



काठमाडौं, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगत केही वर्षदेखि मुलुकमा योजनाबद्ध र संगठित रुपमै भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भने,‘विगत केही वर्षदेखि (म यो सरकारलाई मात्रै दोष दिन चाहँँन्न) करिब एक दशकदेखि नेपालमा योजनाबद्ध र संगठित रुपले भ्रष्टाचार भैरहेको छ । ठूला व्यापारी, ठूला कर्मचारी र ठूला नेताहरुको त्रिकोणात्मक गठबन्धन खडा गरेर मुलुकमा ब्रम्हलुट मच्चाउने काम भैरहेको छ । एनसेल कर छली प्रकरण, नेपाल वायु सेवा निगमको वाईडबडी काण्ड, बालुवाटारको सरकारी जग्गा कब्जा काण्डलगायतका भ्रष्टाचारहरु अहिले छर्लङ भएर आएका छन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संसदीय समितिले नै वाईडबडी जहाज खरिद काण्डमा चार अर्वभन्दा बढि भ्रष्टाचार भएको भनेर छानबिनको लागि आग्रह गरेको सुनाए । ‘एनसेल कर छली प्रकरण नेपालको ईतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो । करिब ४० अर्बको चलखेल भएको अनुमान गरिएको छ । यो ऐनसेल कर छली प्रकरणमा प्रशासनिक क्षेत्र, राजनीतकि क्षेत्र र व्यापारिक क्षेत्रले सेटिङ मिलाएर भ्रष्टाचार गरेका छन् ।

उनीहरुले अरवौं रुपैयाँ राष्ट्रलाई घाटा पुर्याएका छन् । र, केही सिमित व्यक्तिहरुले व्यापक रुपमा रातारात अर्वपति बन्ने सपना पूरा गरेका छन् । आशा न्यायिक क्षेत्रबाट थियो, तर सर्वोच्च अदालतको पछिल्लो फैसलापनि सन्देहको घेराभित्र परेको छ । अनेकौं आंशका र प्रश्नहरु उब्जिएका छन् । परोक्ष्य रुपमा भ्रष्टाचारीलाई सघाउ पुगेको आंशका गरिएको छ ।’

राजनीति, प्रशासनिक र व्यापारिक क्षेत्र भ्रष्ट भएको बेलामा न्यायिक क्षेत्रबाट न्याय पाउने र राष्ट्रहितको पक्षमा ऐतिहासिक फैसला आउने आशा र अपेक्षा गरिएपनि त्यसो नभएकोमा उनले गुनासो पोखे । उनले भने,‘वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कार्यभार सम्हाल्नुभएपछि उहाँमाथि धेरैको आशा र विश्वास थियो । उहाँका केही निर्णयहरुले जनतामा ठूलो आशा पैदा गरिदिएको थियो । तर, पछिल्लो फैसला विवादस्पद भएको छ । अब राज्यका प्रमुख संयन्त्रहरु कार्यपालिका र न्यायापालिकाबाट न्याय नपाएको बेलामा, भ्रष्टाचारविरुद्ध कार्यान्वयन नभएको बेलामा अब एउटा झिनो आशा संसदमाथि छ ।’

संसदले ईमानदारीपूर्वक काम गर्ने हो भने अझैपनि देशलाई ४० अर्ब घाटा हुनबाट जोगाउन सक्ने उनको तर्क छ । उनले भने,‘संसदले ईमानदारीपूर्वक काम गर्ने हो भने भ्रष्टाचारीलाई कठघारमा उभ्याउन सक्दछ । कति दृढताका साथ उभिन्छ ? त्यो त हेर्न बाँकी छ ।’

अध्यक्ष थापाले सबैतिरबाट निराशा भैसकेको अवस्थामा अब जनताको अगाडि जानुबाहेक आफूहरुसँग कुनै विकल्प नरहेको पनि सुनाए । उनले भने,‘राप्रपााले सदन र सडकमा एनसेल काण्डदेखि अन्य भ्रष्टाचारका विषयलाई सशक्त ढंगबाट उठाउने निर्णय गरेको छ ।’ राप्रपाले विजया दशमीपछि सडकदेखि सदनसम्म भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने उनले जानकारी दिए ।

त्यस्तै, भ्रष्टाचारविरोधी अभियानमा होमिएका संघ, संस्था र व्यक्तिहरुसँग सहकार्य गर्ने पनि थापाले जनाए । उनले भने,‘हामी भ्रष्टाचारको खिलाफमा छौं ।’ उनले देश नै अहिले खतरामा रहेको सुनाउँदै आफूहरुको संघर्षमा सरिक हुन जनतालाई आह्वान पनि गरे । त्यस्तै, उनले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई रिहाई गर्न माग गरे । ‘शानितपूर्ण ढंगबाट विरोध गर्न पाउनु संविधानप्रदत्त अधिकार हो । गिरफ्तारमा पर्ने सबैलाई रिहाई गर्न सरकारसामू माग गर्दछु ।’

 

 

 



प्रतिक्रिया दिनुहोस्