Logo

चित्र बहादुर केसीको कर्तुतः दुई नातिका बाबु र आमा नै परिवर्तन



काठमाडौं, असोज २ । जनमोर्चाका नेता चित्रबहादुर केसीले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गराएको खवर सार्वजनिक भएको छ ।

बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षकमा उनी सभासद भएको बेलाको कर्तुत सार्वजनिक गरेको हो ।

उनले आफू संविधानसभाको सभासद् भएका बेला कानून छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीको छोरा बनाइदिएको दाबी सार्वजनिक समाचारमा उल्लेख गरिएको छ ।

आफू सभासद् भएका बेला गाउँविकास समितिलाई प्रभावमा पारेर केसी झूटो सिफारिस बनाउन आफैं खटिएका थिए । यो थाहा पाएर जनमोर्चाका कार्यकर्ताले त्यसो नगर्न सुझाएका थिए ।

तर, उनले त्यसको प्रवाह नगरी ०६७ माघ ५ गते प्रशासनलाई पत्तै नदिई बाबु–आमा परिवर्तन गराएको रिपोर्टमा उल्लेख छ । यद्यपि, उनले परिवारमा भने सल्लाह गरेको जनाइएको छ ।

शुक्रबारले आफ्नो रिपोर्टमा अगाडि लेखेको छ– कानूनअनुसार एकै परिवारका सदस्य भए पनि धर्मपुत्र या धर्मपुत्री बनाउने कानून बाहिर रहेर एकै दाजुभाइका छोराछोरीको आमा–बाबु परिवर्तन सम्भव हुन्न ।

धर्मपुत्र–धर्मपुत्री बनाउन पाउने पनि छुट्टै कानूनी प्रक्रिया र सर्त छन् । तर केसी परिवारले धर्मपुत्रसम्बन्धी कानूनी प्रावधानबाट नाबालकहरूको आमा बाबु परिवर्तन गरेका हैनन, संरक्षक बनाएका पनि हैनन् । कानूनलाई सीधै ढााटेर आमा–बाबु नै परिवर्तन गरिदिएका हुन् ।’

केसीले यसो गर्नुको कारण पनि शुक्रबारले खुलाएको छ । जेठो छोरोको परिवार बिग्रिएको र कान्छा छोरा जापानमा रहेकाले गैरकानूनी रुपमा दुई बालकको बाबुआमा परिवर्तन गरिएको हो ।

चित्रबहादुरले दुई नाति जापान पठाउने मोहकै कारण उनीहरुका आमा–बाबु नै परिवर्तन गरिदिएको शुक्रबारको ठम्याइ छ ।उक्त समाचारमा यस्तो प्रकृतिको घटनामा हुने कानूनी कारबाहीबारे पनि लेखेको छ । शुक्रबारका अनुसार, केसीलाई ५ वर्षसम्म कैद हुनसक्छ । नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने र त्यसमा ५ वर्षको कैद रहेको रिपोर्टमा लेखिएको छ ।

तर, केसी आबद्ध दल जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले भने यो ठूलो इस्यु नभएको बताएकी छन् ।जेठा छोराको घरपरिवार बिग्रिएपछि केसीले यस्तो कदम चालेको उल्लेख गर्दै पौडेलले शुक्रबारसँग भनेकी छन्– हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै मान्ने चलन छ ।

यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले दाबी गरे भने कुरा उठाउनु स्वभाविक हो । बाबुआमाले कुरा उठाएका छैनन् ।’पौडेलले यसमा चित्रबहादुर आफैं लागेजस्तो नलागेको र कानूनी व्यवस्थाबारे थाहा नभए पनि ठूलो इस्यु भने नभएको बताएकी छन् ।



प्रतिक्रिया दिनुहोस्