Logo

प्रधानमन्त्री व्यस्त भएपछि सचिवालय बैठक स्थगित्, प्रचण्ड रुष्ट



काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज विहान बस्ने भनिएको सचिबालय बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्थताको कारण सचिवालय बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठक भोलिका लागि सारिएको हो । तर, बैठक स्थगित् भएकोमा अर्का अध्यक्ष प्रचण्ड सन्तुष्ट छैनन् । पार्टी एकताका बाँकी कामदेखि अन्य धेरै कुराहरुको टुँगो लगाउन विलम्ब भएको भन्दै प्रचण्डले बैठक बसेर सबै कुरा टुँगो लगाउनुपर्ने बताउँदै आएका छन् ।

आजको बैठकमा नेकपाको प्रदेश २ को कमिटीमा जारी विवादबारे छलफल गर्ने बताइएको थियो । साथै, पार्टीको लेखा आयोग, अनुशासन आयोग, प्रवास कमिटी लगायत विभिन्न भ्रातृ संगठनहरुको इन्चार्ज तोक्ने विषयमा पनि छलफल हुने बुझिएको थियो ।

प्रदेश २ मा जिल्ला कमिटी चयन गर्दा एकलौटी गरेको भन्दै नेकपामा विवाद चुलिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला कमिटी एकीकरण प्रक्रियासँगै गठित जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता तथा कार्यकर्ताले केन्द्रमा लिखित असन्तुष्टी दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्