Logo

संविधान दिवसका अवसरमा बहिरङ्ग सेवा निःशुल्क



चितवन, २ असोज । संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा आज एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो ।

जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताए । सामान्यमा रु २५ र विशेषमा रु ४०० लिने गरिन्थ्यो ।

उक्त मेडिकल कलेजमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी आउने गरेको उनले जानकारी दिए । यसैगरी कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत शुभप्रभात श्रेष्ठका अनुसार सामान्य र विशेष दुवै सेवा निःशुल्क गरिएको हो । दैनिक एक हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने उहाँले जानकारी दिए।

यता जिल्लाका सरकारी अस्पताल सबैमा बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार दैनिक एक हजार ९०० सम्म बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । आज झरीको दिन भएकाले केही कम बिरामी हुने अनुमान गरिएको उनले बताए।

यस्तै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार दैनिक ७०० हाराहारी बिरामी उक्त अस्पतालमा आउने गर्दछन् । संविधान दिवसलाई विशेषरुपमा मनाउन आजदेखि तीन दिनसम्म जिल्लामा विभिन्न कार्यक्रम गरी मनाईदैछ । रासस



प्रतिक्रिया दिनुहोस्