Logo

‘सरकारले राज्य आतंक सृजना गर्न खोज्यो’ (भिडियोसहित)



काठमाडौं, २ असोज । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन आज शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् । केही नेताले बोलिसके भने केही बोल्ने क्रममा छन् । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको आरोप लगाएका छन् ।

आगामी अधिवेशन सरकारका लागि सहज नहुने संकेत गरेका छन् । सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ताजस्तो बनाएको भन्दै उनले यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने चेतावनी दिएका हुन् । देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’ शान्तिपूर्ण रुपमा भेला हुँदा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै उनले उनीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्न पर्नु दुःखद रहेको बताए ।

सरकारको चर्को आलोचना गरेका उनले सरकारले न्यायपालिकामा हस्तक्षेप गरेको र व्यवस्थापिकालाई खेलौना बनाएको र सरकारलाई निगरानी गर्ने संवैधानिक निकायलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

अहिलेकै सरकारको पालामा वाइडबडी काण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका घटना भएको भन्दै उनले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको दाबी लगाए । उनले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा उन्मुक्ति दिनुहुन्न छानबिन गर्नुपर्छ । त्यसका लागि प्रतिपक्षको साथ छ ।’ सरकारले संविधानको मर्म र भावनाअनुसार काम नगरेको तथा डेढ वर्षसम्म संविधानलाई सर्वस्वीकार्य बनाउन, संविधानप्रति जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावनाअनुसार बाँकी कार्यभार पूरा गर्न असफल भएको देउवाले बताए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्