Logo

पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अफवाह नफैलाउन सरकारलाई कमल थापाको चेतावनी



काठमाडौं, २ असोज । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अफवाह नफैलाउन सरकारलाई र सत्तारुढ दलका नेताहरुलाई चेतावनी दिएका छन् । राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबारबाट बाहिर निस्किएपछि देश र जनताको हितविपरित हुनेगरि कुनैपनि किसिमका क्रियाकलापहरु भएको सार्वजनिक जानकारीमा नरहेको पनि थापाले जिकिर गरे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा अध्यक्ष थापाले भने,‘सबैले बुझेकै कुरा हो कि–एउटा स्वतन्त्र नागरिकको हैसियतबाट देशका विभिन्न भागहरुमा भ्रमण गर्ने, जनतासँग सम्पर्क गर्ने, मठ–मन्दिरहरुमा पूजा–आराधना गर्ने, नागरिकको नैसर्गिक अधिकार हो । र, त्यो नैसर्गिक अधिकार राजा ज्ञानेन्द्रबाट निर्वाह भैरहेको छ ।’

देशमा शान्ति खलबलाउने, अस्थिरता र अराजकता निम्त्याउनेजस्ता कुनै खालका गतिधिविध राजा ज्ञानेन्द्रबाट यो १३ वर्षको बीचमा नभएको थापाको दाबी छ । उनले भने,‘यदि सरकारसँग त्यसप्रकारका कुनै जानकारी वा सूचनाहरु छन् भने त्यसलाई अमूर्त ढंग र रहस्य ढंगबाट होईन, स्पष्ट रुपमा जनताको अगाडि राख्नको निमित्त पनि म सम्बन्धित महानुभवहरुलाई आग्रह गर्न चाहन्छु ।’

आफ्नो कमजोरीलाई लुकाउनको निमित्त, जनताको असुन्तष्टि र आक्रोशलाई लुकाउनको लागि कृत्रिम बहना बनाएर शान्तिपूर्ण ढंगबाट जीवन निर्वाह गरिराखेका र संविधानप्रदत्त नागरिकको उपभोग गरिरहेका राजा ज्ञानेन्द्र शाहमाथि अनावश्यक आरोप–प्रत्यारोप नलगाउनको निमित्त पनि उनले सबैमा आग्रह गरेका छन् ।

उनले भने,‘नाँच्न नजान्ने आँगन टेढो भन्ने उखान छ, आफूले जनतालाई परितवर्नको अनुभति दिन नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने, बेरोजगारी समस्याको समाधान गर्न नसक्ने, विदेशीहरुको अगाडि निरन्तर लम्पसार परिराख्ने, अदृश्य शक्तिलाई आरोप लगाएर पानीमाथिको ओभानो बन्ने प्रयास अब कसैले नगर्दा हुन्छ । किनभने आम जनताको चेतनाको स्तर बढेको छ ।’

उनले प्रविधिको विकास सँगसँगै अब प्रत्येक व्यक्ति–व्यक्तिको हातमा सुचनाको पहुँच पुगेको सुनाउँदै झुठ र भ्रमको खेती नगर्न चेतावनी दिए । उनले भने,‘त्यसर्थ यो बास्तविकतालाई ध्यान दिनको निम्ति म आग्रह गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्