Logo

‘जनताको अधिकारको लागि लड्ने नेता’



काठमाडौं, असोज २ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंह जनताको हक र अधिकारलाई केन्द्रबिन्दुमा राख्ने नेताको रुपमा चिनिन्छन् ।

आज राजधानीमा स्व गणेशमान सिंहको २२ औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘गणेशमान सिंहको अभिप्रेरणा अधिनायकवाद, कुशासन र भ्रष्टाचारविरुद्धको अभियान’ विषयक अन्तक्र्रियामा वक्ताले राजनीतिमा देशको समृद्धि र जनताको अधिकारको लागि लड्ने नेता सिंह भएको बताएका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सिंह व्यक्तिगत पदका लागिभन्दा पनि देशको विकासका लागि दृढसङ्कल्प भएर लाग्ने नेता भएको जनाए । “गणेशमानजीलाई नपुग्ने कुरा केही थिएन, सुःख सुविधाका साथ बस्न सक्नुहुन्थ्यो तर नेपाली जनताको अधिकारका लागि कैयौँ पटक जेल बस्नुभयो”, उनको भनाई रहेको छ ।

पूर्वमन्त्री होमनाथ दाहाल नेपाली राजनीतिमा स्व सिंह त्यागी नेता भएको धारणा राखेका छन् । “आन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदासमेत लिन नमान्ने सिंहको जीवनबाट नेपाली राजनीतिक दलका नेताले पाठ सिक्नुपर्छ”, उनी सुनाउन्छन् ।

प्राध्यापक कृष्ण खनाल विषम परिस्थितिमा देशलाई निकास दिन स्व सिंहले विसं २०४६ को जनआन्दोलनको नेतृत्व गरेको बताउन्छन्। “कम्युनिष्ट सहकार्य ठीक हो या हैन भन्ने बहस चलेको बेला गणेशमानजीले कम्युनिष्टलाई एक ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्नुभएको थियो”, उनले जानकारी गराए ।

विसं १९७२ कात्तिक २४ गते जन्मेका सिंहको विसं २०५४ असोज २ गते काठमाडौँमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्