Logo

प्रचण्डले देखेको अराजक तत्वहरु को हुन् ? प्रतिवाद गर्न निर्देशन



काठमाडौं, ३ असोज । आज असोज ३ अर्थात संविधान दिवस । देशभरि धुमधामसँग चौथो संविधान दिवस मनाउने काम भैरहेको छ । संविधान दिवसको अवसरमा देशका प्रधानमन्त्री, राष्टपति, उपराष्टपतिदेखि विभिन्न दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेको पनि प्रचण्डले टिप्पणी गरेका छन् । उनले भनेका छन्,जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा भएको बताएका छन् । संविधान दिवस–२०७६ को उपलक्ष्यमा आज शुभकामना दिँदै उनले भनेका छन्, ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ ।’

प्रचण्डद्वारा जारी शुभकामनाको पूर्णपाठ :

संविधान दिवस–२०७६ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यसक्रममा बेपत्ता हुनुभएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु । यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

यस संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको छ ।

संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ ।
वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ । नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो ।

जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन् । जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।

०३ असोज, २०७६

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष



प्रतिक्रिया दिनुहोस्