Logo

प्रधानमन्त्री ओलीलगायत हाइप्रोफाइलको स्वास्थ्य उपचार गर्ने विदेशी डाक्टरलाई विशेष पदक



काठमाडौं, ३ असोज । नेपाल सरकारले संविधान दिवसमा घोषणा गरेको पदक पाउने सूचीमा चारजना विदेशी पनि परेका छन् । उनीहरु सबै वरिष्ठ चिकित्सक हुन् र नेपालका हाइप्रोफाइलको उपचार गरिसकेका हुन् । सँसारकै महङ्गा र प्रतिष्ठित अस्पतालहरुमा काम गरिरहेका र गरिसकेका विदेशी डाक्टरहरु यस वर्ष घोषणा गरिएको पदकमध्ये दोस्रो वरियतामा छानिएका छन् ।

गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनामा सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीका लागि नाम घोषणा भएकाहरुमा प्राध्यापक अनन्तरमन बतसाला, प्राध्यापक डा. अनन्त कुमार, डा. राजीवकुमार शर्मा र डा. हर्ष दुवा छन् ।

उनीहरुमध्ये बतशाला सिंगापुरको नेष्टल युनिभर्सिटी हस्पिटलमा वरिष्ठ कन्सल्टेन्टका रुपमा कार्यरत छिन् । बाँकी तीनजना दिल्लीमा कार्यरत छन् ।

बतशाला प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि जाने गरेको नेस्नल युनिभर्सिटी अफ सिंगापुरको अङ्ग प्रत्यारोपण केन्द्रकी सहनिर्देशक हुन् । उनका अन्तर्राष्ट्रिय जर्नलहरुमा दर्जनौं अनुसन्धानमूलक लेख प्रकाशित छन् । ओलीको उपचारमा उनी संलग्न हुने गरेकी छिन् ।

डा. अनन्त कुमार म्याक्स हस्पिटल दिल्लीको युरोलोजी, युरो ओनोकोलोजी, रोबोटिक र रेनल ट्रान्सप्लान्ट विभागका प्रमुख हुन् । उनी मृगौला प्रत्यारोपणका विशेषज्ञ चिकित्सक हुन् । ओलीको मृगौला प्रत्यारोपणमा हुँदा उनी विशेषज्ञ डाक्टरका रुपमा थिए । उनले हालसम्म ३५ सय मृगौला प्रत्यारोपण गराइसकेको उल्लेख छ । ३५ वर्ष चिकित्सा सेवामा लागेका कुमारको १८० भन्दा बढी लेखहरु जर्नलमा प्रकाशित छ ।
डा. राजीवकुमार शर्मा इन्स्टिच्युट अफ एडल्ट रिकन्सट्रक्सन, स्पोर्टर्स इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट, दिल्लीका प्रमुख हुन् । उनी विगतमा एम्स र एपोलोमा कार्यरत थिए । चिकित्सा पोशामा लागेयता उनले १५ सय जोर्नी प्रतिस्थापन गरिसकेका छन् । उनले पनि नेपालका हाइप्रोफाइलहरुको उपचार गरिसकेका छन् ।

एपोलो अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. हर्ष दुवा क्यान्सरका विशेषज्ञ चिकित्सक हुन् । चिकित्सा सेवामा ४० वर्ष लामो अनुभव सँगालिसकेका उनका दर्जनौं अनुसन्धानमूलक लेखकहरु जर्नलमा प्रकाशित छन् । उनी रक्त क्यान्सरको समेत विशेषज्ञ हुन् । डा. दुवाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपचार गरिसकेका छन् भने नेपालका प्रभावशाली नेताहरुको समेत उपचार गरेका थिए ।

यसैगरी, अष्ट्रेलियाका डाक्टर प्राध्यापक डेभिड फ्रान्सिसले पनि पदक पाउने सूचीमा परेका छन् । उनको नाम सुप्रबल जनसेवा श्री तृतिय श्रेणीमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्