Logo

जागिरपछि कुखुरापालन व्यवसाय



बागलुङ, ३ असोज । कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्थे प्रतिमान थापा । अचेल उनको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे जीवनपछि थापा अहिले कुखुरापालनमा लागेका छन् ।

काठेखोला गाउँपालिका–४ तङ्ग्रामका थापाले कुखुरापालन व्यवसाय शुरु गरेको चार महीना बित्यो । त्यसअघि थापाले दुई वर्ष तत्कालस्न जिल्ला पशु सेवा कार्यालय र पाँच वर्ष गैरसरकारी संस्थाको परियोजनामा ‘जेटिए’का रुपमा बिताए । २९ वर्षीय थापाको ‘फार्म’मा अहिले स्थानीय ‘साकिनी’ जातका कुखुरा छन् । “जागिर छाडेर कुखुरापालनतिर लागेँ, सफल भइएला भन्ने आश छ”, उनले भने, “आफ्नै श्रम र लगानीमा आत्मनिर्भर बन्ने सोचले व्यवसाय रोजेँ ।”

कुखुरापालनका लागि थापाले बागलुङ नगरपालिका–३ रातामाटामा वार्षिक रु ६० हजारमा जग्गा भाडामा लिएका छन् । खोर निर्माण, चल्ला, दाना खरीदलगायत गरी रु आठ लाख लगानी भएको उहाँको भनाइ छ । “शुरुमा एक हजार चल्ला राखेँ, २६० जति बिक्री भए, केही चल्ला मरे”, थापाले भने ।

उनले चल्ला, माउ गरेर हालसम्म दुई लाख बराबरको कुखुरा बिक्री गरिसकेका छन् । एक हजार ८०० ग्रामको कुखुराको मूल्य रु एक हजार ५०० पर्छ । भाले, पोथी दुवैको समान मूल्य रहेको थापाले बताए । पोखरा, स्याङ्जा र काठमाडौँसम्म भाले पु¥याएको उहाँको भनाइ छ । “मुख्य खपत हुने भनेको त बागलुङ बजार नै हो, माग आउँदा बाहिर पनि पठाउने गरेको छु”, थापाले भने ।

स्थानीय जातको कुखुरा महङ्गो पर्ने हुँदा बजारीकरणमा चुनौती रहेको उहाँको अनुभव छ । “सस्तो र धेरै पाइने हुँदा अहिले पनि उपभोक्ताको रोजाइ उन्नतजातकै कुखुरामा छ”, थापाले भने, “स्थानीय जातमा बानी पार्न समय लाग्छ ।” अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । आउँदो एक वर्ष नाफा कमाउनेभन्दा पनि बजारीकरणमै बित्ने थापाको भनाइ छ ।

अहिले भएका कुखुराले अण्डा दिने समय भएकाले अण्डा र चल्ला बिक्रीबाट पनि थप आम्दानी हुनेछ । चल्ला उत्पादनका लागि ‘ह्याचरी मेसिन’ खरीद गर्ने तयारीमा थापा हुनुहुन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएकाले पाँच महीनामा बेच्न योग्य हुन्छ ।

उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने थापाको भनाइ छ । स्थानीय जातको कुखुरालाई खुला चरनसँगै गाउँघरकै गहुँ, मकै र भुसको दाना खुवाउने गरिएको छ । स्थानीय जातको कुखुरासँगै, टर्की, हाँसलगायतका पक्षीको व्यावसायिक पालन गर्ने योजना थापाको छ ।

थापालाई कुखुरापालनमा श्रीमती रुपाको दरिलो साथ छ । कुखुराको रेखेदेख, सुसारमा दुवै उत्तिकै खट्छन् । थापा दम्पतीका चार वर्षीय छोरा र दुई वर्षीया छोरी छिन् । कृषि उद्यमबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य थापाको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्