Logo

ओलीलाई देउवाको चेतावनी : ..त्यसरी सह्यो भनेर हामीलाई हेप्ने ?’



काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले सरकारलाई सहयोग गर्दा सरकारले उल्टै हेप्ने काम गरेको भन्दै नहेप्न कडा चेतावनी दिएका छन् । देउवाले संविधानले नै सुनिश्चित् गरेका कतिपय विषयलाई वर्तमान सरकारबाट उल्टाउने प्रयास भइरहेको आरोप लगाए।

राष्ट्रिय सभा गृहमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले भने,’मिडिया काउन्सिल विधेयक ल्याएर बोल्न नपाउने गरी डण्डा देखाउने काम भएको छ, कुनै पनि निहुँमा जनताको स्वतन्त्रता खोस्न पाइदैन। मानव अधिकार खोस्न पाइदैन।’

सरकारलाई सहयोग गर्नकै लागि आफूहरुले संसदमा उच्छृंखल गतिविधि नगरेको देउवाको स्पष्टोक्ति थियो । तर, उच्छृंखल गतिविधि नगरेकै कारण सरकारले हेप्न नहुने उनले चेतावनी दिए । देउवाले भने, ’हामीले सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौं। रेलिङ भाँच्ने, कूर्सी फोड्ने काम गरेका छैनौं। त्यसरी सह्यो भनेर हामीलाई हेप्ने?’

कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा शान्ति–प्रक्रिया स्थापित भइसकेको भन्दै अब राजनीतिक स्थीरता र शान्तिका लागि कसैले कहिल्यै प्रयास गर्न नपर्ने दाबी गरे ।

यसैगरी, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विचलित नभइ जनताप्रतिको उत्तरदायित्व पूरा गर्नेतर्फ सरकार कटिबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता पूर्वप्रधानमन्त्री शुशील कोइरालालाई मरणेपरान्त सम्मान गरिएको थियो ।

तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्