Logo

संविधानबारे नेपाली रेडियो नेटवर्कको अन्तरक्रिया, कसले के भने ?



काठमाडौं, ३ असोज । नेपाली रेडियो नेटवर्क आजदेखि चौथो बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा आज काठमाडौमा विषेश समारोहकाबीच Radio NRN 99.1 को शुभारम्भ पनि गरिएको थियो । बार्षिकोत्सवका अवसरमा नेटवर्कले आफ्ना प्रस्तुतीहरुलाई थप परिमार्जन पनि गरेको छ ।

यसैबीच, वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख तथा सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, राजपाका नेता महेन्द्रराय यादव, संविधानविद भिमार्जन आचार्य लगायतले संविधानबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाली रेडियो नेटवर्कलाई शुभकामना दिँदै पूर्वसभामुख तथा सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेको संविधान इतिहाँसमै पहिलो पटक जनताले जनताको लागी निर्माण गरेको उत्कृष्ट संविधान भएको दावी गरे । उनले संधिवान निर्माण र कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नहुने भन्दै वर्तमान संविधान सबै राजनीतिक दलहरुको क्रियाशिलताको परिणाम भएको बताए।

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता सिटौलाले राजा र राणा शासनको संविधानसँग जनताले बनाएको अहिलेको संविधान तुलना गर्न समेत नमिल्ने बताए। उनले संविधानप्रति असन्तुष्ट दल राजपा र समाजवादी पार्टीलाई आफ्नो एजेन्डामा प्रष्ट हुन सुझाव दिए। नेता सिटौलाले संविधान कार्यान्वयनमा संसदबाटै त्रुटि भएको टिप्पणी गरे ।

राजपाका नेता महेन्द्रराय यादवले संविधानले मुलुकका सबै पक्षको भावना समेट्न नसकेको दाबी गर्नुभयो ।उहाँले पहिचान पक्षधरको मुद्दा सम्बोधन गर्दै संविधान संशोधनको वातावरण तयार पार्नुपर्ने बताए।

संविधानविद् डा. भीमार्जुन आचार्यले जारी भएको चार बर्ष हुँदा पनि वर्तमान संविधान पूर्ण हुन नसकेको टिप्पणी गरे। उनले संविधान दिवस मनाउन सरकारले उर्दी जारी गर्नुपर्ने परिस्थिती दुखद् रहेको बताए। सबै पक्षका असन्तुष्टिलाई सम्बोधन गर्न सके संविधान दिवस मनाउनका लागी उर्दी जारी गर्न नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेटवर्कका अध्यक्ष ऋषि धमलाले नेपाली रेडियो नेटवर्क सबैको साझा नेटवर्क भएको बताए । उनले अहिले नेटवर्क लोकप्रियमात्रै नभएर सबैको प्रिय बनेको पनि विश्वास दिलाए । उनले भने, हाम्रो रेडियो नेटवर्क सबैको साझा भएको छ । नेपाली बहस त झनै सबैको साझा कार्यक्रमको रुपमा जनताको मनमा बस्न सफल भएको छ । यो कार्यक्रमलाई देशभरिका जनताले आफ्नो अपनत्व लिएका छन् । हामी कुनैपनि विचार वा वादमा विश्वास गर्दैनौं । हामी व्यवसायिक पत्रकारीतामा क्रियाशिल छौं ।

धमलाले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको पथमा अघि लम्बिएकोले संविधान कार्यान्वयनमा मिडियाले पनि सशक्त भूमिका निर्वाह गर्ने र आफ्नो तर्फबाट पनि सक्रिय भूमिका खेल्ने जनाए । त्यस्तै, उनले अब मुलुक राजनीतिक स्थायित्वतर्फ अघि बढेकोले विकास र समृद्धिको पक्षमा नेटवर्कले आवाज बुलन्द पार्ने पनि स्पष्ट पारे । भ्रष्टाचार अन्त्यको लागि नेटवर्कले सशक्त भूमिका निर्वाह गर्नेपनि धमलाले विश्वास दिलाए ।

नेपाली रेडियो नेटवर्कले संविधान कार्यान्वयको चुनौती र अवसर शीर्षकमा मुलुकका प्रमुख राजनीतिक दलका नेताहरुलाई बोलाएर अन्र्तक्रिया गरेको हो । संविधान मान्ने र असन्तुष्टि व्यक्त गर्ने सबै पक्षबीच छलफल चलाएर संविधान कार्यान्वयनमा भूमिका खेल्ने उद्देश्यले अन्र्तक्रिया कार्यक्रममा आयोजना गरिएको प्रबन्ध निर्देशक अमृत अधिकारीले जानकारी दिए।

बार्षिकोत्सवका अवसरमा नेटवर्कले काठमाडौंमा आजदेखि रेडियो Radio NRN 99.1 शुभारम्भ गरेको छ । नेपाली रेडियो नेटवर्कमा देशभरीका दुई सय भन्दा बढी रेडियोहरु आवद्ध छन् ।



प्रतिक्रिया दिनुहोस्