Logo

बादल फाटेपछि लुक्लामा जहाजको ओहिरो



सोलुखुम्बु । लुक्लामा छ दिनदेखि अवरुद्ध हवाई सेवा सुरु भएको छ । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार मौसममा सुधार भएपछि तेन्जिङ हिलारी विमानस्थलबाट हवाईजहाज तथा हेलिकोप्टर गरी १५५ उडान भएको हो ।

लुक्ला विमानस्थाल दैनिक २५ को हाराहारीमा उडान हुने खुम्बु क्षेत्रको एकमात्र विमानस्थाल हो । लगातार मौसममा आएको खराबीका कारण गएको छ दिनदेखि लुक्लामा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका थिए । उडानको पर्खाइमा रहेका २५४ विदेशी गरी जम्मा ३५८ यात्रु राजधानी फर्केका छन् ।

लगातारको वर्षा र बाक्लो कुहिरोका कारण उडान प्रभावित भएपछि खाद्यान्न र दैनिक प्रयोगका सामग्रीमा परेको प्रभावले पर्यटक र स्थानीयलाई ठूलो समस्या परेको थियो । उडान खुलेसँगै त्यस ठाउँको जनजीवन सामान्य भएको छ ।

समिट, तारा र सीता एयरले लुक्लामा दैनिक तथा नन–सेडुल दर्जनौं उडान गर्ने गरेका छन् । कतिपय यात्रुहरुले पैदालयात्रामार्फत सदरमुकाम सल्लेरी हुँदै सडक मार्गको प्रयोग गर्दा केहीले पैदलयात्रा गरी सुर्केबाट हेलिकोप्टर चार्टर गरेर आफ्नो गन्तव्य तय गरेका थिए ।

उडानका लागि कम्तिमा पाँच किलोमिटर भिजिबिलिटि आवश्यक पर्दछ । विमानस्थल वरपरको भिजिबिलिटि ५० मिटर भन्दा तल भएको कारण हवाईजहाज तथा हेलिकोप्टर उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्