Logo

प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपप्रधानमन्त्री यादवको अमेरिका यात्रा



काठमाडौं, ३ असोज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक अमेरिका उडे । देशमा डेंगुको प्रकोप बढिरहँदा स्वास्थ्यमन्त्री विदेश यात्रामा अत्याधिक जाने आउने गरेकोमा आलोचना भइरहँदा उनी फेरि अमेरिका उड्नुमा रहर नभई वाध्यता भएको बुझिएको छ ।

३ असोजमा संविधान दिवस परेकोमा यादव अनुपस्थित हुनका लागि मात्र नभई बहिष्कारको कार्यक्रम छल्न अमेरिका लागेका हुन् । सरकारमा सहभागी भएर पनि सरकारले मनाउने संविधान दिवसको विरोधीका रुपमा उनको दल समाजवादी पार्टी नेपाल उभिएको छ । यसले पद छाड्ने या संविधान दिवसमा सभागी हुने नैतिक संकट परेको थियो ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएरै सरकारमा बसेर संविधान दिवस विरोधी क्रियाकलाप गर्ने हो भने पद छाड्न भनेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । कि पद छाड्न कि त संविधान दिवसमा सहभागी हुन भनेपछि यादवले छल्ने उपाय रचे । उनी अमेरिका उडे । अमेरिकाको यात्रामा हिंडेपछि न त उनी समर्थक देखिए न त विरोधी जस्तो देखिए । पद छाड्नुभन्दा अमेरिका बसेर फर्कन नै ठिक भनेर उनी देश छाडेका हुन् ।

समाजवादी पार्टीलगायत मधेशकेन्द्रित दलले संविधान दिवस बहिष्कार गरेर विरोध गरेका छन् । उनको दलले विरोधमा सक्रिय सहभागिता भने जनाएको छैन । संविधानमा हस्ताक्षर नगरेपनि यादवले यसैमा टेकेर भएको चुनावमा सहभागिता जनाई उपप्रधानमन्त्री पदको सपथ समेत खाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्