Logo

वाइयात हल्ला फिजाएर यो व्यवस्थाको रौं पनि हल्लिएको छैन-प्रथम राष्ट्रपति डा. रामवरण यादव



काठमाडौं, ३ असोज । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान दिवसमा महत्वपूर्ण सन्देश दिए । उनले संविधान आएकाले यसलाई समयसापेक्ष संशोधन गर्दै जानुपर्ने बताए । अहिलेको राजनीतिक व्यवस्थामाथि कसैले चुनौती दिदैंमा रौं पनि हल्लाउन नसक्ने बताए । उनीसँग नेपाली रेडियो नेटवर्कको वार्षिकोत्वसमा ऋषि धमलाले गरेको विशेष कुराकानीः

रेडियो एनआरएन चौथो प्रवेश गरेको अवसरमा के शुभकामना दिन चाहनुहुन्छ ?
देशलाई सही मार्गचित्रमा डोर्याई लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन अहोरात्र खटेर आमनागरिकलाई रेडियो एनआरएनले सही सूचना प्रवाह गर्दै आएको छ । उक्त रेडियो स्थापनाको चौथो वर्ष प्रवेश गरेको सुखद् उपलब्धमा उत्तरोत्तर प्रगतिका कामनासहित शुभकामना दिन चाहन्छु । आज संविधान दिवसको दिन भएकाले नेपाली रेडियोृ नेटवर्कलगायत आमनागरिकमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना छ । यो संविधानले देशलाई भलो गरोस् भन्न चाहन्छु ।
संविधानसभाबाट जारी संविधान सबै नेपाली जनतालाई स्वीकार्य छ कि छैन ?
यो संविधानलाई मानेर गइराखेकाले अहिलेको अवस्थालाई हेर्दा सबैलाई स्वीकार्य छ । यसमा केही असन्टुष्टिहरु छन् । त्यसलाई राजनीतिक र सैवैधानिक हिसावले समाधान गर्दै अगाडि बढ्नुपर्छ ।
कार्यान्वयनमा त केही वाधा अड्चनहरु आइराखेका छन् नि ?
सबै ठाउँमा सतप्रतिशत कुरा कहिल्यै सल्भ हुँदैन । खासगरी हाम्रो देशमा हिमाल, पहाड, तराईका जुन भौगोलिक, सामाजिक विविधताहरु छन् । यहाँ हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म विभिन्न जाति, धर्म, वर्ग र समुदायको बसोबास छ । ती समुदायहरुका विभिन्न मागहरु हुन्छन् त्यसलाई संवैधानिक हिसावले सम्बोधन गर्दै जानुपर्छ । जो यो संविधानभन्दा बाहिर रहेर हतियारद्वारा खेलिरहेका छन् । तिनलाई पनि वार्ताद्वारा संविधानको दायरामा ल्याउनुपर्छ । उनीहरुका के माग हुन् त्यसको पनि संवैधानिक तरिकाले सम्बोधन गर्नुपर्छ । त्यसबाहेक जुन असन्तुष्टिका कुरा छन् ती मधेस, दलित, जनजाति, आदिवासी, उत्पीडित, अल्पसंख्यक वर्ग, समुदायका कुरा होलान् त्यसलाई पनि राजनीतिक र संवैधानिक हिसाबले समाधान गर्दै जानुपर्छ । यो लोकतान्त्रिक गणतन्त्रको धेरै राम्रो संविधान हो । यसमा लोकतन्त्र छ, गणतन्त्र छ, समानुपातिक समावेसिता, धर्मरिपेक्षता छ । हिमाल, पहाड, तराईमा बसोबास गर्ने जाति, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक, उत्पीडित वर्ग समुदायलाई समेटिएको छ । धेरै विषयवस्तु समेटिएकाले कतै कसैलाई चित्त नबुझेको कुरा वैधानिक र राजनीतिक हिसावले समाधान गर्दैजानुपर्छ । समग्रहमा यो संविधान राम्रो र उत्कृष्ट छ । यसलाई सही ढंगले सदुपयोग गर्ने हो भने नेपालको कल्याण हुन्छ । यसलाई राम्रोसँग ग्रहण गर्नुहास् सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा यही मेरो शुभकामना छ ।

नयाँ संविधानमा उल्लेख भएर अनुसार देशमा विकास समृद्धि त हुन सकेन नि ?
लोकतन्त्रमा कुनै पनि कुरा पूर्ति हुन समय लाग्छ । फेरि हामी राजनीतिक हिसावले धेरै अगाडि बढेका छौं । तपाईंले भनेजस्तो असन्तुष्ट पक्षले पनि यो संविधानमा भाग लिएको अवस्था छ । किन भने ती पक्षले यही संविधान अन्तर्गत बनेको सरकारमा भाग लिएका छन् । त्यसभित्र थोरै असन्तुष्टि देखिन्छ । तिनीहरुलाई पनि मिलाएर जानुपर्छ । जहाँसम्म खाली राजनीतिक हिसावले हामी धेरै बढेका छौं । असन्तुष्टि देखिएका ठाउँमा पनि प्रदेश, स्थानीय र केन्द्रीय चुनाबहरु भएका छन् । त्यसमा उनीहरुले भाग पनि लिएका छन् । जनप्रतिनिधि पनि बनेका छन् । त्यसअन्तर्गत सरकार बनेर कार्यालय पनि स्थापना भएका छन् । सात वटै प्रदेशमा जनप्रतिनिधिहरु चुनिएका छन् ।

स्थानीय, प्रदेश र केन्द्र गरी सबै निकायमा समानुपातिक र समावेसी हिसावले जनप्रतिनिधि चुनिएका छन् । त्यो एकदमै सकारात्मक विषय हो । यसमा सबै जातजाति, वर्ग, समुदाय, महिला, मुस्लिम, अल्पसंख्यक, उत्पीडित, मधेसी, दलित, थारुलगायतलाई समेटिएको छ । केन्द्रदेखि स्थानीय तहसम्म सबैलाई समेटेर ल्याउनु राम्रो पक्ष हो । जहासम्म विकास र समृद्धिका कुरा छन् । त्यसमा कानुनहरु पनि बनेका छन् । अब केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँस सहकार्य गर्दै उसको सह–अस्तित्व स्वीकार गरेर संविधानको स्प्रिटअनुसार जानुपर्छ । बनेका विधि, विधान र कानुनलाई मानेर अगाडि जानुपर्छ । लोकतन्त्रमा सबै कुरा पूरा हुन समय लाग्छ । किन भने यसमा विधि, विधान र कानुनसम्मत ढंगले जानुपर्ने हुन्छ । लोकतन्त्रमा सुशासनसहितको कानुनी राज्य हुनुहुपर्छ । त्यसमा कमीकमजारी देखिराखेको छु ।

जनताप्रतिको उत्तरदायित्वमा कमजोरी देखिन्छ । यसलाई सुधार गरेर जानुपर्छ । लोकतन्त्रले दिएको कुरा तुरुन्तै ठीक देखिँदैन तर लोकतान्त्रिक अभ्यासले देश बन्छ । हामीले देशमा लोकतान्त्रिक संविधान त ल्यायौं तर त्यसलाई सञ्चालन गर्ने मानिसहरु कस्ता छन् । व्यवस्था र राज्य कसरी सञ्चालन गरिरहेका छन् त्यसमा भरपर्छ । लोकतन्त्रलाई पुरै स्वीकार गरेर विधि, विधान अनुसार गए भने देश बन्छ । अब विकासको कुरा गर्दा सही मोडालिटी हुनुपर्छ । त्यसको लागि विज्ञहरुसँग बसेर निश्चित मोडालिटी बनाएर जानुपर्छ । अहिले आइरहेको विकासको मोडल मलाई त्यति राम्रो लाग्दैन । यो देशको प्रकृति छियाछिया भएको छ । तराईंको जंगल समाप्त भएको छ । चुरे दोहनले गर्दा तराईका जमिनहरु मरुभूमिमा परिणत भएको छ । मध्येपहाडी क्षेत्रको झन्डै ५० प्रतिशत जमीनमा खानेपानी र सिंचाईंको समस्या छ । प्रकृति दोहनका कारण पानीका मुहानहरु सुकिरहेका छन् । जथाभावी सडक खन्ने नाममा पहिरोले गाउँनै जोखिममा परेको छ । विकास गर्दा देशको भू–बनावटलाई ख्याल गर्नुपर्छ । विकासको नाममा विनास गर्नुहुँदैन । जहासम्म समृद्धिको कुरा छ त्यसमा प्राप्त परिवर्तनलाई सबैले मिलेर संस्थागत गर्नुपर्छ ।

यो सबै बलिदानीबाट प्राप्त उपलब्धी हो । यसलाई सबैले एक ठाउँमा उभिएर बँचाउनुपर्छ । हामीले हिजो अभ्यास गरिकेका छौं । राणाकाल, सुनेका थियौं, पञ्चायतकाल भोग्यौं र बहुदलकालमा हामी आपैmं थियौं । अहिले हामीले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनाएका छौं । यो हामी सबैको रगत, पसिनाबाट प्राप्त भएको उपलब्धी हो । यसलाई सबै मिलेर स्थायित्व दिनुपर्छ ।

हामीसँग स्थायी सरकार छ । उसको कार्यकाल अभैm साढे तीन वर्ष बाँकी छ । यो सरकारले पनि दुईतिहाईको दम्भलाई त्याग्नुपर्छ । प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि जानुपर्छ । देशलाई सही बाटोमा लिएर जान नेतृत्व जिम्मेवार छ । हामी संसदीय व्यवस्थामा छौं । यसमा विधायिका, कार्यपालिका र न्यायपालिका आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर खेल्नुपर्छ । एकअर्कालाई सम्मान गर्नुपर्छ । संवैधानिक निकायहरुलाई सवलीकरण गरेर जानुपर्छ । संवैधानिक निकायहरुमा सही, सत्य, इमान्दार, निश्पक्ष र निश्कलंक मान्छेहरु राख्नुपर्छ । राष्ट्रलाई माया गर्ने मान्छेहरुलाई राजदूत नियुक्त गर्नुपर्छ । यी कुराहरुमा कमजोरी देखिन्छ । अहिले मानवअधिकार, मिडिया काउनिसल विधेयकहरु ल्याएर स्वतन्त्रतामाथि संकुचित गर्ने, संवैधानिक निकायहरुलाई संकुचित गर्ने काम भइरहेको देखिन्छ । त्यसमा सरकारलाई सचेत गराउन चाहन्छु । नेपाली मिडिया र जनताले सरकारको वाचडगको रुपमा काम गर्नुपर्छ । यो संविधानले हामी सबै नेपालीको न्याय र भलो गरोस् । देश समृद्ध होस् नेपालीहरु सुखी र खुशी रहुन् भन्ने कामना गर्दछु ।
तपाईंले सबै मिलेर जाँदा मात्रै उपलब्धीको रक्षा हुन्छ भनिरहँदा व्यवस्था संकटमा छ भन्नेहरु पनि छन् नि ?
यो संकटमा छैन । जथाभावी हल्का कुराहरु गर्नुहुँदैन । कसै–कसैले भनेको मैले सुनिरहेको छु त्यो देख्दा असाध्यै दुःख लागेर आउँछ । आपूmले असल काम गर्दै जानुपर्छ कसले के भन्यो भन्नेतिर लाग्ने होइन । नेपाली जनताले खुन पसिना बगाएर यो लोकतान्त्रिक व्यवस्था ल्याएका छन् । यो व्यवस्थाको एउटा रौं पनि हल्लिएको छैन । सडकमा पैmलिएका वाइह्यात कुरामा जानुहुँदैन ।
त्यसो भए यो व्यवस्थाको विकल्प छैन हाम्रो देशमा ?
यसको विकल्पै छैन । विकल्प जसले खोजिरहेको छ उसको आफ्नै अस्तित्व छैन । संसारको उत्तम व्यवस्था हामीले ल्याएका छौं । यसलाई अभ्यास गरेर हेरौं । अहिले व्यवस्थालाई नै दायाँवायाँ गरेर हिड्ने हो भने देश कहाँ जान्छ ? यति पनि विवेक पु¥याएर जान सकिँदैन । यहाँ ययित ठूला राजनीतिक पार्टीहरु छन् । अहिले माओवादी र एमाले मिलेर नेकपा सरकारमा छ । कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ । माओवादी द्वन्द्वरत अवस्थामा हुँदा सातवटा पार्टी थियौं । त्यति बेला माओवादीलाई मिलाएर ल्याएका हौं । त्यसैले हिजो जसले यो व्यवस्था चाहेका थिए उनीहरुको हातमा छ । यसमा सबैले मिलेर यसलाई संस्थागत गर्न अगाडि बढ्नुपर्छ । व्यवस्थालाई काहीबाट खतरा छैन । जसले खतरा छ भन्छ उसले हल्का कुरा गरेर समय बर्बाद गरिरहेको छ ।
लोकतन्त्रमाथि कहिंबाट पनि खतरा छैन हो ?
कहीं कतैबाट खतरा छैन । खतरा छ कि छैन भनेर जनताले हेरिरहेका छन् । उनीहरुले नै यो व्यवस्था ल्याएको हो । कसैले खतराको संकेत गर्छ भने त्यसलाई जनताले नै काउन्टर गर्नेछन् ।
नेत्रविक्रम चन्दलाई पनि वार्तामा ल्याउनुपर्छ भन्ने यहाँको दृष्टिकोण हो ?
उहाँलाई सरकारले वार्तामा ल्याउनुपर्छ । उहाँले पनि त्यसलाई स्वकार गरेर वार्तामा आउनुपर्छ । यो लोकतान्त्रिक व्यवस्थामा ९० प्रतिशत हिजो उहाँसँगका सहकर्मीहरु मेन धारमा छन् । उहाँको माग के हो स्पष्ट गर्नुपर्छ र सरकारले पनि त्यसलाई वार्ताद्वारा ल्याएर जनतासामु स्पोज गर्नुपर्छ । यो लोकतन्त्र ल्याउन धेरै जनताको रगत पसिना बगेको छ । त्यसलाई राम्रोसँग सवलीकरण गर्नु सबै राजनीतिक पार्टी व्यक्तिको धर्म हो ।
लोकतन्त्रमा पनि सुशासन छैन, जताततै भ्रष्टाचर छ किन यस्तो भएको ?
भ्रष्टाचार भन्ने कुरा नेतृत्वतहमा बस्ने मानिसहरुको नैतिकता, कार्यक्षमता, इमान्दारितामा भरपर्छ । मुहान सफा भयो भने मात्रै तलसम्मको पानी सफा हुन्छ । त्यतातिर ध्यान दिनुपर्छ । मेरो सुझाव उहाँहरुलाई लोकतान्त्रिक विधिमा सुझबुझसहित सबैलाई मिलाएर विधिसंगत ढंगले जानुपर्ने हुन्छ ।
संविधान संशोधन आवश्यक छ ?
कुन कुरामा चित्त बुझेको छैन त्यसलाई आपसमा बसेर छलफलको माध्यमबाट सबैलाई समेटेर संशोधन गरेर गए झन् राम्रो हुन्छ । यसमा कतिपय कुरा राजनीतिक हिसावले हुन्छ त्यसलाई राजनीतिक ढंगले र कतिपय कुरा संविधानमै संशोधन गर्नुपर्ने देखिन्छ भने त्यसलाई संशोधन गरेर जानुपर्छ । लोकतन्त्रमा यी सबै कुराहरु खुल्ला छन् ।
संघीयता हाम्रो देशको लागि सञ्जीवनी बुँटी हो ?
देशमा संघीयता ल्याएको छौं । अमेरिका, भारत, क्यानडा, स्वीट्जरल्यालगायतका मुलुकमा सफल भएको छ । हाम्रो देशमा पनि सफल हुन सक्छ । त्यसलाई प्रयोग गरेर हेर्नुपर्छ । अहिले नै संघीयता सफल भएन भन्नु बेकार हो ।
संघीयताले विकास हुन्छ ?
हामीले जुन खाल व्यवस्था ल्याएका छौं । त्यसलाई इमान्दारीपूर्वक लागि गरियो भने निश्चय नै विकास हुन्छ । संघीयताले विकास, निर्माण रोक्छ भन्ने छैन । यसलाई अभ्यास गरेर हेर्नुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्