Logo

कांग्रेस जिल्ला सभापति आक्रमण : राजनीतिक दल आरोपप्रत्यारोपमा



काठमाडौं ४ असोज । कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण भएपछि यहाँ राजनीतिक दल आरोपप्रत्यारोपमा उत्रेका छन् । कांग्रेसले घटनामा संलग्न माथि कारबाही माग गर्दै बिरोध प्रदर्शन गरिरहेको छ । कांग्रेसले आक्रमणमा नेकपा कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ । नेकपाले आरोपको खण्डन गरेको छ ।

गत भदौं २६ संचालन भएको जागरण कार्यक्रमका बेला नेकपा कार्यकताले कुटपिट गरेर हात भाँचेको सभापती कोइरालाको आरोप छ।

कांग्रेस कार्यकर्ता असलम भाटले सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेको भिडियोमा हात भाँचिएको देखिदैन। एकसाता अघि पार्टी कार्यालयमा सभापती शेरबहादुर देउवा आएका बेलापनि कोइरालाले हात ‘फ्याक्चर’ भएको दावी गरेकी थिइन्। उक्त भिडियोमा उनी हातमा हाने भन्दै कराएको सुनिन्छ। ‘मेरो हात भाँचिएको छ,’ कोइरालाले भनिन, ‘कसले कुट्यो थाहा छैन। तर, आक्रमण भएको हो।’ यसै विषयलाई लिएर कांग्रेसले प्रदेशसभादेखि संघीय सदन अवरुद्ध गरिसकेको छ। जिल्लामा पनि एक सातादेखि निरन्तर विरोध प्रर्दशन भइरहेको छ।

कांग्रेसले सीतापुरस्थित रेडक्रसको भवनमा जागरण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा केन्द्रीय प्रतिनिधि विद्या खनाल बोलिरहेका थिए। कार्यक्रमको भाटले भिडियो खिचिरहेका थिए। भाटलाई खोज्न भन्दै आएका केही युवा होहल्ला गर्दै कार्यक्रम हलमा छिरे। ती युवाले असलमलाई लिन आएको बताएका थिए।

कांग्रेसका कार्यकर्ताले लैजान नमिल्ने बताए। कार्यक्रम सकिएपछि लैजानु भने। यहि विषयमा विवाद बढेको थियो। कोइरालामाथि कुटपीट भएपछि नेकपा जिल्ला अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइरालाले दुख व्यक्त गरेका थिए।

उनीहरुले घटना व्यक्तिगत रिसइबीका कारण भएकाले यसलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए। कांग्रेसले दोषिमाथि कारवाही गर्दै जाहेरी दर्ता गरेको थियो। त्यसपछि नेकपाले विज्ञप्ती जारी गरेर घटना राजनीतिक कारणले नभएको दाबी गरेको थियो। ‘कार्यक्रममा हाम्रा कार्यकता जानु गलत थियो’, पत्रकार सम्मेलनमा नेकपा अध्यक्ष खरेलले भने, ‘तर, पार्टीको निर्देशन बमोजिम आक्रमण भएको होइन।’

घटनाको वास्तविकता लुकाएर राजनीतिक द्धन्द्ध सिर्जना गरेको भन्दै कांग्रेस नेता मेहन्द्र मल्ल ठकुरीले पार्टीबाट राजीनामा दिएका छन्। उनले गत भदौं २९ गते राजिनामा पत्र जिल्ला समितिमा पेश गरेका थिए। पत्रमा पारिवारिक कारण उल्लेख गरेपनि वास्तवमा पार्टीको गलत राजनीतिक प्रवृत्तिदेखि टाढा हुन राजीनामा दिएको उनले बताए। ‘सभापतिमाथि कुटपीट भएकै हो। तर, नेकपाका कार्यकर्ताले नभई कांग्रेसकै कार्यकताले हातपात गरेका हुन्’, उनले कान्तिपुरसँग भने, ‘यो गलत अभ्यास हो।’

गत बुधबार नेपालगञ्जमा दुई युवा समुहबीच खुकुरी हानाहान भएको छ। सुर्खेत रोडनजिक स्वागत रेष्टुरेन्टमा खुकुरी प्रहारबाट गम्भीर खड्का र अमर रोकाय घाइते भएका छन्। खड्काको भारतको लखनउमा उपचार भइरहेको छ। गम्भीरको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तरुण दलका जिल्ला अध्यक्ष विरेन्द्र शाह र सचिव विनोद रिजालले घटनाप्रति ध्यानार्कषण जनाउँदै विज्ञप्ती निकालेका छन्। बिज्ञप्तीमा तरुण दल उपमहानगर अध्यक्ष सन्दिपजंग शाहमाथि खुकुरी प्रहार हुँदा जोगाउने क्रममा आफन कार्यकर्ता रोकाय र खड्का घाइते भएको उल्लेख छ। विनोद खड्का र दिपक थापा समुहले खुकुरी प्रहार गरेर कार्यकर्ता घाइते बनाएको तरुण दलको आरोप छ।

युवा संघ उपमहानगर कमिटि र वाइसीएलले विज्ञप्ती जारी गर्दै घटनामा संलग्नता नरहेको जनाएको छ। विज्ञप्तीमा घटनामा संलग्न कुनैपनि व्यक्ति आफ्ना कार्यकर्ता नभएको दावी गरिएको छ। बिज्ञप्तीमा घटनमा छानविन गरि दोषीमाथि कारवाही गर्न प्रशासन समक्ष अनुरोध गरिएको छ। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्