Logo

संविधान दिवसको अवसरमा फिलोसोफिस्का नेपालमा निःशुल्क दन्त परीक्षण



काठमाडौं, ४ असोज । संविधान दिवसको अवसरमा फिलोसोफिस्का नेपाल संस्थामा बालबालिकाहरुको निःशुल्क दन्त परिक्षण गरिएको छ । उक्त परिक्षण “Travel Dentistry Nepal” द्वारा गरिएको हो । फिलोसोफिस्का नेपालले आर्थिक अवस्था कमजोर भएका र असहाय बालबालिकाको रक्षा, गुणस्तर शिक्षासंगै बसोबास र खानपिनको निमित्त काम गर्दै आएको छ । यस संस्था बिगत ६ वर्षदेखि सामाजिक कार्यक्रममा सक्रिय छ ।

उक्त संस्थाले ६० बालबालिकाको दन्त परीक्षण गरेको थियो । उक्त परीक्षणमा निम्नबर्गीय बालबालिकाको बीचमा मुख स्वस्थसम्बन्धि जनचेतना जगाउने प्रयास पनि गर्दै आएको छ । संस्थाले मन्जन, टुथ–ब्रस समेत वितरण गरेको थियो ।

उक्त कार्यक्रममा दन्त चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा दन्त चिकित्सक शंकर श्रेष्ठ, श्रेया कायस्थ, पूजा सुबेदी, सुनिता कुँवर, सृयासा अधिकारी, प्रतिक्षा आचार्यलगायत चिकित्सकहरुले दन्त परीक्षण गरेका थिए ।

संस्थाका अध्यक्ष डा. राजेन्द्र केसीले बच्चाहरुलाई सहयोग गर्न पाउँदा निकै गौरवान्तित महसुस भएको सुनाए । समाजका विभिन्न तह र तप्काको सहयोगले संस्था चलेको र आगामी दिनमा पनि सहयोग पाईरहने अपेक्षा गरिएको उनले सनुाए ।

कार्यक्रममा दन्त चिकित्सक डाक्टर सुबाश घिमिरेको अनुसार “बिस्तारै नेपाली समाजमा दाँतको बिषयलाइ लिएर जनचेतना फैलिदै गएको छ । उनले भने,‘अझैपनि सरकार र सरोकारवाला निकायले ध्यान दिएका छैनन् ।’

संस्थाका संयोजक अशोकराज पाण्डेकाअनुसार उक्त संस्थाले स्थापनाकालदेखि असहाय बच्चाहरुलाई सहयोग गर्दै आएको छ । उनले भने,‘हामीले गुणस्तर शिक्षाको लागि जोड दिईरहेका छौं ।’ उक्त संस्थामा अहिले नर्सरीदेखि कक्षा ४ सम्म ६० जना विद्यार्थी छन् । आगामी दिन यसलाई उच्च माध्यमिक बिद्यालयमा परिणत गर्ने पनि आफूहरुले लक्ष्य राखेको पाण्डेले बताए ।



प्रतिक्रिया दिनुहोस्