Logo

देउवामाथि राष्ट्रपतिको व्यंग्य : ‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर के बोल्नुभयो बुझिँन्’



काठमाडौं, ४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक रुपमै उनले बोलेको कुरा बुझिएन भन्दै व्यंग्य कसेकी छिन् । हिजो (शुक्रबार) संविधान दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा कांग्रेस सभापति देउवालगत्तै सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले देउवालाई नै निशाना बनाएर उनले बोलेको कुरा नबुझिएको व्यंग्य कसेकी थिईन् ।

राष्ट्रपति भण्डारीले खित्का छोडेर हाँस्दै देउवामाथि व्यंग्य हानेको प्रष्टै बुझिन्छ । उनले सुरुवातमै यसो भनेकी थिईन्,‘यो मञ्चमा यहाँ वक्ताले बोलेको केही बुझिँदो रैनछ । नेताहरुले जोस्सिएर बोल्नुभयो, फ्लोरबाट एकदम राम्रो स्वागत भयो, ताली बज्यो ।’

भण्डारी त्यतिकैमा रोकिईनन् । उनले फेरि थपिन्,‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर..तर के बोल्नुभयो भन्ने कुरा चाहीँ मैले……आम रुपमा बुझिँन् । समस्या, यो मञ्चकै समस्या लाग्यो । कान सुनिएन, बुझिएन । पछि मिडियाहरुबाट थाहा पाईएला के के बोल्नुभयो भन्ने कुरा ।’

उनले सबै दललाई मिलेर संविधान कार्यान्वयनमा लाग्न आग्रह गरेकी थिईन् । राष्ट्रपति भण्डारीले भनेकी थिईन्, ‘संविधान कार्यान्वयनको चरणमा छ। केही प्रावधान कार्यान्वयन भइसकेका छन्। त्यसैले दलहरूले मिलेर अघि बढ्नुपर्छ।’ उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सुशील कोइरालाले दिएको योगदानको चर्चा समेत गरेकी थिइन्।

त्यस्तै, कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको शालीनतालाई सरकारले कमजोरीका रुपमा नलिन सरकारलाई चेतावनी दएका थिए । देउवाले जिम्मेवारपूर्ण प्रतिपक्षीको भूमिका निर्वाह गर्न खोज्दा सरकारले हेपेको भन्दै आक्रोश पोखेका थिए ।

उनले भनेका थिए,‘संविधान प्रजातान्त्रिक र समावेशी छ। संविधान जति राम्रो भए पनि यसको प्रमुख पक्ष कार्यान्वयन हो। कार्यान्वयन अवस्था हेर्दा संविधानको मर्म्विपरीत हुने विधेयक ल्याएर लोकतन्त्रमाथि नै चुनौती थप्ने काम भइरहेको छ, हामीले रेलिङ भाँचेका छैनौं। कुर्सी तोडेका छैनौं। केही गरेन भनेर हामीलाई हेप्ने ?’



प्रतिक्रिया दिनुहोस्