Logo

अमेरिका र साउदीले आक्रमण गरे ध्वस्त पारिदिने इरानको चेतावनी



अमेरिकाले साउदी अरबमा सेना पाउने निर्णय गरेलगत्तै इरानले कडा चेतावनी दिएको छ । इरानी सेनाका मेजर जनरल होसेन सलामीले इरानमाथि हुने कुनैपनि आक्रमणको कडा प्रतिकार गर्ने भन्दै ध्वस्त पारेरै छाड्ने चेतावनी दिएका हुन् ।

शनिबार इरानी राष्ट्रिय सञ्चारमाध्यममार्फत् उनको भनाई आएको हो । उनले भने, हामीलाई आक्रमण गर्नेलाई ध्वस्त नपारेसम्म चुप लाग्दैनौं । आक्रमणको कडा जवाफ दिइने उनले बताए ।

सलामीको भनाई त्यतिबेला आएको छ जतिबेला अमेरिकाले साउदी अरबमा सैन्य दस्ता पठाउने निर्णय गरेको छ । हुथी विद्रोहीले जिम्मेवारी लिएको एउटा खतरनाक ड्रोन हमलापछि खाडीमा तनाव बढिरहेको छ । तेल प्रशोधन केन्द्रमा आक्रमणपछि साउदी अरबको आधा उत्पादन घटेको छ । यसले संसारभर कच्चा तेलको मूल्यवृद्धि भएको छ । यसको एक हप्तापछि अमेरिकाले सेना पठाउने निर्णय गरेको छ । त्यसलाई इरानले गम्भीरताका साथ लिएको छ ।

ड्रोन हमलामा इरानमाथि अमेरिका र साउदी अरेबियाले आरोप लगाउँदै आएका छन् । इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
खाडी क्षेत्रमा सैन्य गतिविधि बढिरहेको छ । हतियारको होडवाजी चल्ने संकेत देखिइसकेको छ । यसले त्यस क्षेत्रमा अशान्ति मच्चिते खतरा बढेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्