Logo

मन्त्री बाँस्कोटाको दाबी : पाँच वर्षभित्र दुई अंकको आर्थिक वृद्धिद्धर कायम गर्छौं



काठमाडौं, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ’‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई बढ्दो अवस्था कायम गरिरहेको बताएका हुन् । मन्त्री बाँस्कोटाले भने, “केही साताअघि भएको सात दशमलव एकको वृद्धिदर अहिले सात दशमलव पाँच प्रतिशत कायम भएको छ ।”

आर्थिक वृद्धिदरलाई बढाएर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पु¥याइने लक्ष्य लिएको पनि उनले दाबी गरे । मन्त्री बाँस्कोटाले सरकारले आर्थिक वृद्धिदरलाई बढाउने प्रमुख सूचक श्रमको सम्मान गर्ने नीति भएको उल्लेख गर्दै हामीले तल्लो वर्गलाई पनि सँगसँगै हिँडाउने नीति अवलम्बन गरेका छौँ, यो आर्थिक वृद्धिदरको प्रमुख सूचक मान्दछौँ भने ।

उनले विभेदको अन्त्यबाट नै मुलुकको समृद्धि जोडिएको बताउँदै विभेदलाई लोकतन्त्रले स्वीकार नगरेको उल्लेख गरे । मन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई उत्पादन एवम् उत्पादकत्वसँग जोड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उत्पादकत्वसँग नजोड्दा विभेद समाप्त नभएको बताए ।

उनले भने, “जुन तहको बजेट भए पनि स्थानीय तहले नै कार्यान्वयन गर्ने हो, विकासको अभियानले श्रम–संस्कृतिलाई उत्पादन र उत्पादकत्वसँग नै जोड्ने हो ।” मन्त्री बाँस्कोटाले जनता बसेको स्थानमा विकास निर्माणका काम गरिने बताए । “सु–शासन लोकतन्त्रमा अनिवार्य शर्त हो”, उनले भने, “लोकतन्त्रमा सुशासन अनिवार्य शर्त हो, यो बिना आर्थिक समृद्धि सम्भव छैन, समृद्धिका लागि प्राविधिक शिक्षा पनि अर्को पाटो हो ।”



प्रतिक्रिया दिनुहोस्