Logo

भारतले २०२१ भित्र आफ्नै रकेटबाट अन्तरीक्षयात्री पठाउने



भारतले आफ्नै रकेटबाट अन्तरीक्षयात्री पठाउने भएको छ । यसका लागि उसले तयारी अगाडि बढाइरहेको खुलासा गरेको छ । उसले अन्तरीक्षमा आफ्नै यानबाट अन्तरीक्षयात्री पठाउन एक खर्व भारतीय रुपैयाँ खर्च गर्दैछ ।

अन्तरीक्षमा मानव पठाउने सफलता हासिल गरेमा भारत रुस, अमेरिका र चीनपछि अन्तरीक्षमा मानव पठाउने चौंथो देश हुनेछ ।
भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इशरोका प्रमुख के सिभनले शनिबार भुवनेश्वरस्थित आइआइटीको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा भारतको अन्तरीक्षयात्री पठाउने योजनाबारे जानकारी गराएका हुन् । उनले भने, ‘सन् २०२१ भित्र पहिलो भारतीयलाई हाम्रो अन्तरीक्षयानबाट अन्तरीक्षमा पठाउने योजना अनुसार काम भइरहेको छ ।’

मानवसहितको अन्तरीक्षयात्री पठाउनु अघि मानवरहित अन्तरीक्षयात्री पठाउने भारतको योजना रहेको छ । सन् २०२० को डिसेम्बर भित्र मानवरहित अन्तरीक्षयान पठाइने भारतीय अन्तरीक्ष प्रमुखलाई उदृत गर्दै पिटिआईले उल्लेख गरेको छ । सिभनले गगनयानलाई निकै महत्वका साथ लिएको बताएका छन् ।

इशरोले तीन सदस्यीय अन्तरीक्षयात्रीलाई पठाउने योजना बनाएको हो । गगनयान नाम दिइएको योजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ को स्वतन्त्र दिवसमा घोषणा गरेका थिए ।

भारतको अन्तरीक्षमा मानव पठाउने योजना अन्र्तगत भारतीय वायुसेनाले अन्तरीक्षयात्रीको पहिलो चरणको छनोट पूरा गरिसकेको छ । गत महिना गगनयानका लागि अन्तरीक्षयात्री छनोट गरिएको र ती मध्येबाट विभिन्न चरणमा पुनः छनोट गरिदै अन्तिम तीन जनाको नामको टुंगो लगाइने जनाइएको छ ।-एजेन्सी File Photo: ISRON



प्रतिक्रिया दिनुहोस्