Logo

यो सत्ता र व्यवस्थालाई स्वीकार गर्दैनौं-मोहन वैद्य ‘किरण’



कम्युनिष्ट नेता मोहन वैद्य ‘किरण’ विचार र सिद्धान्तमा जोड दिन्छन् । प्रचण्डका समेत राजनीतिक गुरु उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः
संविधान बनाउँदा तपाईंको असहमति थियो, यसको कार्यान्वयन पक्षमा बाध अड्चन देखिएको छ ?
यो संविधानमा हाम्रो सन्तुष्टि मात्रै होइन विरोध हो । पहिलाको हिसाले हेर्दा यो केही सकारात्मक पनि छ । यसमा उल्लेख गणतन्त्र, धर्मनिरपेक्षता, समावेसी समानुपातिक प्रतिनिधित्व जस्ता विषयहरु आंशिक रुपमा सकारात्मक छन् । तर समग्रमा भन्नुपर्दा हामीले रुपान्तरण र नयाँ जनवादको निम्ति आन्दोलन गर्दै आएको, दशवर्षे जनयुद्धको सन्दर्भमा जनचाहना र अपेक्षाहरु पूरा गर्न सकेन । यस अर्थमा हामीले विरोध गर्दै आएका छौं । यो संविधानले देश रुपान्तर गर्न र जनताका हकअधिकारलाई स्थापित गर्ने प्रक्रियामा अगाडि बढ्न सकिँदैन । अब नयाँ संविधान निर्माण र जनताका हकअधिकारका निम्ति थप संघर्ष गर्दै जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।
संविधानसभाबाट संविधान निर्माण भइसकेपछि सबै माग पूरा भएन र ?
आंशिक रुपमा भएको छ । मुल्ुकमा लोकतान्त्रिक गणतन्त्र आयो । त्यो जनयुद्धकै परिणाम हो । तर, समग्रमा जनगणतन्त्रको संधिवान हामीले खोजेका हौं । त्यो प्रप्ता हुन सकेन । हाम्रो विरोध त्यहाँ हो । केही हुँदैभएन भन्ने होइन अंश त केही भएका छन् ।
संविधानमा निर्दृष्ट उपलब्धी भएन भन्नुभएको हो ?
राजनीतिमा प्रवृत्ति हुँदैनन् भन्ने होइन यसमा विभिन्न धारा हुन्छन् । संघर्षहरु चल्दै आएका हुन्छन् । अहिले जुन संसदीय व्यवस्था छ यसलाई हामीले स्वीकार गर्दैनौं । निर्वाचनको सन्दर्भमा उपयोग गरौंला । त्यो अलग कुरा हो । समग्रमा यो सत्ता र व्यवस्थालाई स्वीकार गर्दैनौं । अतितका दृष्टिकोणले हेर्दा यो संविधान प्रगतिशील छ । भविष्यका दृष्टिकोणले हेर्दा पश्चगामी नै रहेको छ । हामी अतितमुखी होइन भविष्यमुखी भएर अगाडि जानुपर्छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि यो संविधानबाट हुँदैन ।
देश विकासको लागि त संविधान बाधक होइन नि ?
जस्तो सत्ता र व्यवस्था छ मान्छे त्यस्तै हुन्छन् । तिनले गरेका काम पनि त्यस्तै हुन्छन् । त्यस कारण सत्ता र व्यवस्था ठीक मान्छे बेठिक भन्ने कुरा भएन । यो संविधानले त्यस्तै खालका मान्छेलाई ठाउँ दियो । त्यसैले मान्छे मात्रै दोषी होइन कि संविधान पनि दोषी हो । अर्को संविधान बनाउनेहरु पनि दोषी नै हुन् । अर्को रुपान्तरण त हुँदै जान्छ । एउटै कुरामा टाँस्सिएर बस्ने कुरा हुँदैन । त्यसकारण रुपान्तरणको प्रक्रिया निश्चित रुपमा अगाडि बढ्छ । नयाँ संविधानको निम्ति जनताले संघर्ष गर्दै जान्छन् । अहिले एकथरी यो संविधान नै अचुक खालको छ अब अरु केही चाहिँदैन भन्नु राजनीति बुझेकाले गर्ने कुरा होइन । त्यस कारण पनि रुपान्तरणको आवश्यकता छ ।
अन्त्यमा तपाईंको नेपाली रेडियो नेटवर्क ९९.१ ले सधैं जनताका पक्षमा सत्य, तथ्य र निश्पक्ष समाचार लिएर आओस् । यसले आफ्नो स्थापनाकालको ३ वर्ष पुरा गरी चौथो वर्ष प्रवेशको सुखद् उपलब्धमा उत्तरोत्तर प्रगतिसहितको शुभकामना दिन चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्