Logo

आन्तरिक खिचातानीले कांग्रेसमा गतिरोध



काठमाडौं ५ भदौ । आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोल अवस्थामा पुगेको छ । १३ औं महाधिवेशन भएको साढे तीन वर्ष हुँदासमेत आन्तरिक विवादका कारण विभाग र अन्य निकायलाई कांग्रेसले पूर्णता दिन सकेको छैन । यसबाट कार्यकर्ता नेतृत्वपंक्तिसँग असन्तुष्ट छन् ।

महाधिवेशन भएको दुई महिनाभित्रै सबै विभाग र निकायलाई पूर्णता दिइसक्नुपर्ने विधानको व्यवस्था रहे पनि संस्थापन र असन्तुष्ट पक्षबीचको खिचातानीका कारण यो कामले अहिलेसम्म पूर्णता पाउन नसकेको हो ।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षका कारण विभागहरु गठन हुन नसकेको दावी गर्दै आएको छ ।

असन्तुष्ट पक्षले संस्थापन पक्षको दाबीलाई अस्वीकार गर्दै सभापति देउवाले विभागहरु गठन गर्न नचाहेको आरोप लगाउँदै आएको छ ।

महाधिवेशन भएको साढे तीन वर्ष बितिसकेकाले अब विभागहरु गठन गर्नुभन्दा १४ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने पक्षमा असन्तुष्ट खेमा छ । तर, संस्थापन पक्ष बाँकी समयका लागि भए पनि विभागहरु गठनको पक्षमा छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्