Logo

प्रधानमन्त्री बन्ने वामदेवको योजनामा प्रचण्ड यसरी बने अवरोध



रिपोर्टर्स नेपाल, ५ असोज । का उपाध्यक्ष वामदेव गौतम बर्दियाबाट चुनाव नहारेको भए प्रधानमन्त्रीको बलिया दाबेदार भइसक्थे । आफ्नो प्रभाव क्षेत्रमै हारेपछि उनले पार्टी नेतृत्वप्रति औंला ठड्याएका थिए । नियोजित रुपमा हराइएको विषय उठ्यो ।
केपी शर्मा ओली प्रधानमन्त्री भएपछि गौतम अर्को पक्षसँग नजिक भए । पार्टी एकीकरणपछि प्रचण्डसँग नजिक भएका उनी अचानक ओलीसँग नजिक भए । ओलीले उनलाई पार्टी नेतृत्व र आफूपछिको प्रधानमन्त्रीका रुपमा अगाडि बढाउन खोजेको संकेतहरु देखिन थाले । पार्टीको विधानमा नभएको उपाध्यक्ष पदको व्यवस्था गरेर उपाध्यक्ष समेत बनाइयो ।

गौतम सांसद बन्ने तिव्र चाहनाका साथ लागे । उनले कास्की क्षेत्र नम्बर २ मा खाली रहेको प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न चाहे । नेकपाका नेता समेत रहेका पूर्वमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ वामदेव चुनाव लड्ने चर्चा चल्यो ।
चुनाव नजिकिदै जाँदा वामदेवले आफू निकटस्थहरुलाई कास्की पठाएर स्थिति बुझ्न लगाए । गौतमका नजिकका नेकपा कार्यकर्ता गएर समग्र स्थिति बुझेर वास्तविक सूचना पठाए । जसमा गौतम उम्मेदवार बने कुनै हालतमा हराउने तयारी भइसकेको थियो । गौतम निकटस्थका अनुसार पूर्व माओवादी चुनावमा वामदेवलाई कुनै हालतमा हराउने गरी तयार भइसकेका थिए । भित्री रणनीति बुझेर वामदेवले पार्टी सचिवालय बैठकमै आफू उम्मेदवार नबन्ने बताए ।

चुनाव लड्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह थियो । उनले त्यसलाई सकारात्मक रुपमा पनि लिएका थिए । तर, अर्का अध्यक्ष प्रचण्ड गौतमको उम्मेदवार बन्ने चाहनालाई रुचाइरहेका थिएनन् । सानो असहयोगले पनि चुनावमा पराजित हुने देखेपछि गौतम पछि हटे । प्रचण्डले पनि सचिवालय बैठकमा रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउन जोड दिए ।
यी सबै घटनाक्रमका पछाडि वेटिङ प्राइमिनिस्टरको विषय मुख्य थियो । प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने विगतको सहमति खुलाइसकेका थिए । जसअनुसार अबको छ महिनापछि प्रचण्ड प्रधानमन्त्री बन्न तयार अवस्थामा रहिसकेका थिए । तर, वामदेव सांसद बनेर आउँदा नयाँ चुनौती थपिन सक्थ्यो । पूर्व एमालेहरुको समर्थन वामदेवलाई जाँदा संसदीय दलमा समेत उनकै पकड बलियो हुन्थ्यो । प्रधानमन्त्री बन्ने पथमा अवरोध आउन नदिन पनि प्रचण्डले वामदेवलाई रोक्न सफल भए ।

कसरी चिसियो सम्बन्ध
प्रचण्ड माओवादी अध्यक्ष हुँदै वामदेवको निकट सम्बन्ध थियो । पार्टी एकीकरणपछि पनि उनी ओलीभन्दा प्रचण्डसँग नजिक थिए । वामदेवलाई सांसद बनाउनुपर्छ भन्दै प्रचण्डले पार्टी सचिवालयमा आवाज उठाउँथे । तर, ओली सकारात्मक हुँदैनथिए ।

तर, परिस्थिति बदलिदै गयो । वामदेव ओलीसँग नजिकिए । पूर्व एमालेकै पक्षमा रहनेगरी अगाडि बढे । उनले एउटा पार्टीको सैद्धान्तिक लाइन उल्लेख गरी लेख लेखे । जसमा नेपाल कम्युनिष्ट पार्टीको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवादमा आधारित हुनेछ उल्लेख थियो । गौतमले जबजलाई छाड्न नहुने अडान राखेर पूर्व एमालेको एजेन्डालाई एकीकृत पार्टीमा पनि स्थापित गरिरहने रणनीति बनाए । पूर्व एमालेको एजेन्डालाई नेतृत्व लिने वामदेवको रणनीति बुझेर प्रचण्ड असन्तुष्ट भए ।

एकीकृत पार्टीको सिद्धान्तलगायतका विषय आगामी महाधिवेशनले टुंगो लगाउने सहमति भए बमोजिम कस्ले कुन एजेन्डाको नेतृत्व लिने विषय अगाडि आयो । कम्युनिष्ट पार्टीमा जस्को एजेन्डाले जित्छ उसैले नेतृत्व लिन्छ । गौतम जबजको एजेन्डा लिएर बढे । उनी यही एजेन्डालाई जिताएर पार्टी नेतृत्व लिन अगाडि सरे । यसबाट प्रचण्ड झस्किए । प्रचण्डको आफ्नै एजेन्डा छ । प्रचण्डका प्रतिष्पर्धी गौतम हुने परिस्थिति बन्यो । जसका कारण नेकपाभित्र अब प्रचण्ड भर्सेस वामदेवको परिस्थिति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्