Logo

ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको शुभारम्भ, गृहमन्त्री र आईजिपीले के भने ?



काठमाडौं, ५ असोज । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्। गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने जनाए।

 आइतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह गरे।

विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धि समस्या पनि स्वत घटेर जाने गृहमन्त्री थापाको भनाइ छ। गृहमन्त्री थापाले सिंगो मुलुकनै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ पनि सबैलाई सचेत गराए। गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास गरे।

 त्यस्तै, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको बताएका छन् । खनालले ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि पद्धति बसाल्ने काम भइरहेको बताए ।

उनले भने,‘अहिलेको जमाना ट्राफिक व्यवस्थापन र नियन्त्रण गर्ने भनेको पद्धतिले हो, हामीसँग भएका संरचनामा ट्राफिक प्रहरीले अहोरात्र खटिएर काम गरिरहेको छ, धेरै सुधारका काम भएका छन् । हिजो जस्तो विकराल छैन ।’ खनालले सरकारको सहयोगमा केही ट्राफिक लाइट मर्मत भएर सुधार भएको पनि स्मरण गराए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्