Logo

उपत्यकामा ट्राफिक स्वयंसेवक परिचालन



काठमाडौं, ५ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले युवा परिचालन वर्ष(२०७६ अन्तर्गत काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुर र यूएन नेपालद्वारा संयुक्त रुपमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री थापाले ट्राफिक स्वयंसेवकहरुलाई फ्लोरोसेन्ट ज्याकेट र परिचयपत्र वितरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सो अवसरमा गृहमन्त्री थापाले युवाहरु नै सक्रिय, सिर्जनशील र उत्पादनशील शक्ति भएको उल्लेख गर्दै राष्ट्रको विकास, समृद्धि, शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न युवाहरुको महत्वपूर्ण र निर्णायक भूमिका हुने बताए ।

नेपालमा विकास गतिविधि र तीव्र गतिमा शहरीकरण भइरहेको अवस्थामा विकास सम्बन्धि नीति र योजनालाई पुनर्विचार गर्नुपर्ने उहाँले बताउनुभयो । नागरिकहरुले समेत ट्राफिक नियमको पालना गरी आफ्नोतर्फबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले जनचेतना अभिवृद्धि गर्नका लागि यो अभियानको शुभारम्भ गरिएको बताए ।

ट्राफिक व्यवस्थापन सहज नभएमा शान्ति सुरक्षामा समेत खलल पुगी देशमा अस्थिरता सिर्जना हुने भएकोले यस अभियानले देशमा शान्ति सुव्यवस्था स्थापना गर्न योगदान र्पयाउने गृहमन्त्री थापाले बताउनुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्न तथा नेपाल भ्रमण वर्ष सफल पार्न समेत अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष मनाउन गइरहेको सन्दर्भमा पर्यटकहरुको पहिलो नजरमा ट्राफिक प्रहरीको व्यवहार, आचरण, प्रस्तुति, काम गराई र बोलीले नेपालको अवस्था झल्काउने तथा ट्राफिक प्रहरीले नै राजदूतको रुपमा काम गर्ने बताए । ट्राफिक व्यवस्थापनका लागि सुधारका विभिन्न कामहरु भइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले ठमेल तथा पशुपति क्षेत्रमा सहज अवस्था सिर्जना हुँदै गएको र अबका दिनमा ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन सडक बत्ती, जेब्रा क्रस, आकाशेपुल लगायतका पूर्वाधार पर्याप्त मात्रामा विकास गर्नुपर्नेमा जोड दिए ।

मानवीय रुपमा ट्राफिक व्यवस्थापन गर्दा केही त्रुटी हुन सक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘अबको ट्राफिक व्यवस्थापन गर्ने भनेको पद्धतिले हो, हामी यसतर्फ उन्मुख हुन जरुरी छ र यसको अर्को विकल्प पनि छैन ।’ ट्राफिक व्यवस्थापनका लागि विभिन्न करिडोरहरु खोल्ने, नागरिक समाजसँग समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्ने, ट्राफिक नियम नमान्नेलाई कारवाही गर्ने लगायतका कार्यहरु नेपाल प्रहरीले गर्दै आइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका सम्बद्ध पक्षहरु पनि यसप्रति क्रियाशील भई लाग्न जरुरी रहेको बताए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरे उक्त कार्यक्रममा हास्य कलाकारहरु मनोज गजुरेल र जितु नेपाल, युएनभिका कन्ट्री कोअर्डिनेटर मुन गुरुङ र राष्ट्रिय युवा परिषद नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शुभकामना मन्तव्य व्यक्त गर्दै ट्राफिक व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल प्रहरीले आत्मसात् गरेको लोकप्रिय कार्यक्रम समुदाय(प्रहरी साझेदारी अवधारणा अनुरुप सहकार्य र सक्रिय संयुक्त सहभागिताको आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ वटा कलेज, २ वटा युवा क्लब, १६ वटा निजी यातायात, १० जना ख्याती प्राप्त कलाकार, १२ जना एयरहोष्टेज समेत गरी ५ सय जना स्वयमसेवकहरु यस अभियानमा १५ दिनसम्म परिचालन हुनेछन् । उक्त स्वयंसेवकहरुलाई १ दिने प्रशिक्षण प्रदान गरी सकिएको छ । साथै उनीहरुको कार्यक्षमता मूल्याङ्कन गरी प्रमाणपत्र समेत वितरण गरिने छ ।
युवाहरुसँग सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, उनीहरुमार्फत आमनागरिकसम्म ट्राफिक सचेतना र नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने, सडक अनुशासनको विषयलाई स्वत आम प्रवृत्तिको रुपमा विकास गर्ने, युवाहरुमा ‘हामी बिना बर्दीका प्रहरी हौं’ भन्ने भावना जागृत गर्ने र युवा स्वयंसेवक परिचालन गरेर वर्तमान अवस्थामा काठमाडौंको मुख्य चोकहरुमा ट्राफिक सचेतना महशुस गराउने उद्देश्य सहित अभियान संचालन गरिएको हो ।

ट्राफिक स्वयंसेवकहरुले काठमाडौंका प्रमुख सडकहरुमा खटिएर जेब्राक्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, पिक एण्ड ड्रप व्यवस्थापन गर्ने, यात्रुलाई बस बिसौनी तथा लाइनमा बसी सवारी चढ्न सहयोग गर्ने, लाइन मेन्टेन कार्यमा सहयोग गर्ने, यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने लगायतका कार्य गर्नेछन् ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु यातायात व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यालयका प्रतिनिधिहरु, यातायात मजदुर संघका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्