Logo

दशैँ मनाउन घर जग्गा धितोमा, विचौलियाको चलखेल



मकवानपुर । धेरैका लागि दशैँ, कतिपयका लागि दशा । हो नेपालीहरुको ठूलो पर्व दशैँ धनी र हुनेखानेका लागि उमङ्ग बनेर आउँछ । तर दुखी गरिबका लागि दशा बन्ने गरेको छ । मकवानपुरमा दशैँ मान्नका लागि सर्वसाधारणहरु घर जग्गा धितो राखेर पैसाको जोहो गर्न थालेका छन् ।

नेपालीको महान चाड दसैं नजिकिदै गर्दा घर घरमा बालबच्चा खुसी हुन्छन् । तिनै बच्चालाई खुसी राख्न अभिभावकले कस्तो सास्ती खेप्नुपर्छ भन्ने उदाहरण मालपोत कार्यालय मकवानपुर पुग्दा देखिएको छ ।

आर्थिक अवस्था कमजोर भएकाहरु घर जग्गा धितो राखेर पैसाको जोहो गर्न मालपोत कार्यालय पुग्ने गरेका छन् । आफ्नो क्षमताअनुसारको खर्च गरेर दशैँ मनाउनुपर्ने हो । तर दशैँ भन्नासाथ ऋण खोजेरै भए पनि धेरै खर्च गर्नुपर्छ भन्ने मान्यता स्थापित हुँदा दुखी गरिबलाई निकै समस्या हुने गरेको छ । धितो राखेर पैसा पाइन्छ भन्ने थाहा पाएपछि दशैँका लागि पैसाको व्यवस्था गर्न लालपुर्जा बोकेर मालपोत कार्यालय धाउनेहरु धेरै छन् ।

दशैँ खर्चका लागि घर जग्गा धितो राख्न मालपोत पुगेका सर्वसाधारण

पछिल्ला दिनमा मालपोत कार्यालय मकवानपुरमा जग्गा धितो राखेर पैसा माग्न जानेहरुको भिड देखिन्छ । यसरी एउटा पर्व मानाउनका लागि नै जग्गा धितो राख्नुपर्ने अवस्था आउनु पक्कै पनि सुखद पक्ष होइन ।

अझै जग्गा धितो राखेर पैसा लिँदा ठगिने सम्भावना पनि उत्तिकै हुन्छ । सोझा सोझा जनतालाई विचौलियाहरुले लोभ देखाएर जग्गा नै हडप्ने सम्भावनासमेत रहेको मालपोतका अधिकृत सुरेन्द्र प्रधान बताउँछन् ।

मालपोत कार्यालय मकवानपुरका अधिकृत सुरेन्द्र प्रधान

बर्षदिनमा एकपटक आउने दशै सामान्य आाम्दानी हुनेहरुका लागि दशा नै हुन्छ । बजार भाउ दिनप्रतिदिन बढिरहदा दुःख गरी जोहो गरेर राखेको केही रकमले दशै खर्च टार्न हम्मे हम्मे परिरहेको हुन्छ ।

‘हुनेलाई खसि नहुनेलाई फर्सि’ भने झैँ गरिबहरुका लागि त्यहि फर्सि किन्ने पैसा पनि नहुने अबस्था छ हाम्रो समाजमा । त्यसैले पर्वलाई धेरै खर्च गरेर देखाउने वा प्रतिस्पर्धा गर्ने तरिकाले मनाउनु हुँदैन । सबै चाडपर्व आफ्नो क्षमताअनुसार मनाउने कुरालाई सबैले प्राथमिकता दिनुपर्छ ।
-दामु चौलागाई, हेटौँडा



प्रतिक्रिया दिनुहोस्