Logo

अग्रिम टिकट त खुल्यो तर यात्रुलाई झन सास्ती (भिडियोसहित)



काठमाण्डौ । काठमाण्डौमा बस्दै आएका लाखाँै नागरिक दशैँका लागि गृह जिल्ला जाने गर्दछन् । तर घर जानका लागि उनीहरुले हरेक वर्ष यातायातमा सास्ती पाउने गरेका छन् । आजदेखि काठमाण्डौ बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर समस्यै समस्याले यात्रु दिक्क हुनुपरेको छ ।

दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने गर्दछन् । तिनै यात्रुका लागि आइतबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिको हो । बुकिङ खुला गरिएसँगै सबैभन्दा धेरै यात्रुले टिकट काट्ने गंगबु बसपार्कमा निकै भिडभाड थियो ।

लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जानेहरु बिहानदेखि बसपार्कमा टिकटको लाईनमा बसेका हुन् । तर टिकट काट्ने ठाउँ निकै अस्तव्यस्त छ । सरकारले यात्रुको समस्यालाई उपेक्षा गरेका कारण हरेक वर्ष टिकटका लागि दुःख झेल्नुपरेको यात्रुको गुनासो छ ।

महिलाहरुलाई त झनै समस्या छ । हवाराँै यात्रु टिकटका लागि तछाडमछाड गर्नुपर्ने ठाउँमा महिला, बालबालिका र वृद्धले त टिकट काट्न सक्ने अवस्था नै छैन । अग्रिम टिकट बुकिङ खुलेपछि सरकारका निकायहरु अनुगमनमा पनि जाने गरेका छन् । तर अनुगमनमा जानेहरुले अव्यवस्थित दृश्य हेर्नुबाहेक अरु केही सुधार गर्न सकेका छैनन् ।

विभागले गतवर्षहरुमा पनि यस्तो अनुगमन गर्ने गरेको थियो । तर, बढी भाडा लिने, छत र ढोकामा यात्रु राख्ने, कोचेर यात्रु हाल्ने, जथाभावी यात्रु ओसार्ने लगायतका समस्या हल हुने गरेको छैन ।

यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुहरुलाई सास्ती दिने काम गरे बस व्यवसायीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लागेको छ । यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालन गरिएको दावी गरिएको छ ।

तर यस्तो कक्षबाट यात्रुले सहज अनुभूति गर्न पाएका छैनन् । यस्ता समस्या हरेक वर्ष देखिदै आएको छ । तर सरकारले समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । जसले गर्दा यात्रु दशैँमा घर जाँदा कयौँ समस्या भोग्न बाध्य छन् । सरकार र यातायात व्यवसायी मिलेर यात्रुले भोग्दै आएका समस्या समाधानका लागि नीतिगत सुधार गर्नु आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्