Logo

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिब्याको ‘दिब्य शक्ति’



रिपोर्टर्स खोज, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या शाह संविधान दिवसमा मानपदवी पाउन सफल मात्र भइनन् मानपदवी दिलाउन समेत सफल भइन् । यसले उनको शक्ति र प्रभाव प्रमाणित भएको छ ।

सरकारले संविधान दिवसको अवसर पारेर मृगौला रोग विशेषज्ञ प्रा. डा. दिब्या सिंह शाहलाई सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित गरेकोे छ । प्रधानमन्त्री ओलीले प्रा.डा शाहलाई क्याबिनेट चिकित्सकको रुपमा नियुक्त गरेपछि उनले राजनीतिक नियुक्त र सम्मानमा पछाडि फर्केर हेर्नु पर्ने अवस्था आएको छैन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख समेत रहेकी प्राडा शाह पछिल्ला राजनीतिक नियुक्तमा कहाँ परिन भन्दा पनि कहाँ परिनन् भनेर हेर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुबीच चर्चा चल्न थालेको छ । शिक्षण अस्पतालको विभागीय प्रमुख रहेकी शाह निजी क्षेत्रबाट सञ्चालित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा समेत नेफ्रोलोजी एण्ड ट्रान्सप्लान्ट विभागमा कन्सल्टेन्ट नेफ्रोलोजिस्टका रुपमा काम गर्दै आएकी छन् ।

संविधान दिवसको अवसरमा मानपदवीबाट विभूषित हुने चिकित्सकहरुको सूची हेर्दा डा. दिब्याकै प्रभाव रहेको देखिन्छ । बिभूषित हुने ३३ चिकित्सकमा उनी कार्यरत रहेको चिकित्सा शास्त्र अधययन संस्थान (आइओएम)बाट मात्र ११ जना परेका छन् । ती पनि शाह निकट चिकित्सकहरु । स्वास्थ्य मन्त्रालय मातहमा रहेका काठमाडौंका सरकारी अस्पतालबाट वीरका डा. सुवोध अधिकारी मात्र परेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर समेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव निकट डा सुबोधकुमार अधिकारी सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) मानपदवीबाट विभूषित हुने सूचीमा छन् । डा. अधिकारी दिब्यासँगै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद्, सदस्यमा नियुक्त भएका व्यक्ति हुन् ।

प्रतिष्ठानकी विवादित उपकुलपति प्रा.डा. संगिता भण्डारीले आफ्नो पद सुरक्षित बनाउन प्रधानमन्त्रीका विश्वास पात्र शाह र स्वास्थ्यमन्त्रीका विश्वासपात्र अधिकारीलाई प्राज्ञिक परिषद्मा मनोनयन गर्न सिनेटमा प्रस्ताव लगेको प्रधानमन्त्री निकट उच्च स्रोतको भनाइ छ । त्यस्तै आइओएम बाहिरबाट पदक पाउने अर्का भाग्यमानी चिकित्सकमा डा. ज्योतिन्द्र शर्मा गनिन् पुगेका छन् । त्यो पनि डा. दिब्या निकट भएका कारण । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा शर्मा सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) मानपदबीबाट विभूषित हुने सूचीमा परेका छन् । आइओएम बाहिरबाट नेपाली सेना चिकित्साशास्त्र महाविद्यालयका प्राडा नगेन्द्रबहादुर केसी र विरेन्द्र सैनिक अस्पताल डा भरतबहादुर भण्डारी सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) बाट विभूषित हुनेमा परेका छन् ।

दिब्या कै प्रभावमा आइओएमबाट मात्र डा. दिब्यासहित १२ जनाले संविधान दिवसको अवसरमा मानपदवी पाउन सफल भएको शिक्षण अस्पतालकै चिकित्सकहरु बताउँछन् । तीमध्ये प्राडा उत्तमकुमार शमा, डा प्रेम ज्ञवाली, प्राडा रामकुमार घिमिरे, डा शर्मा पौडेल, डा रत्नमणि गजुरेल, डा रमेशसिंह भण्डारी, डा इश्वर लोहनी र डा पलेस्वाँ जोशी लाखे सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) मानपदबीबाट विभूषित हुने सूचीमा पर्न सफल भएका छन् । त्यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा उत्तम श्रेष्ठ, र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकी लेखा अधिकृत उमा पाण्डेसमेतले सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)बाट विभूषित हुने अवसर पाएका छन् । पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको नियमित उपचार हुँदै आएको छ ।

आइओएममै कार्यरत वरिष्ठ मुटुरोग सर्जन प्राडा. भगवान कोइराला पनि उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) मानपदवीबाट विभूषित हुने सूचीमा रहेका छन् । चिकित्सा शिक्षा अध्ययन संस्थानमा डिन प्राडा जगदीश अग्रवालले पदक पाउने व्यक्तिहरु क्षमताको हिसाबले आफ्नो क्षेत्रमा धेरै अघि रहेको बताउँछन् । ‘जसले पदक पाएको हो योगदानको हिसाबले पदकले न्याय पाएको छ । प्राडा अग्रवालले भने ।’
उता आफू कार्यरत ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेलाई पनि सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदक दिलाउन उनी सफल भएकी छन् । दिब्याका गुरु अस्टे«लियन नागरिक डा डेविन फ्रयानसिसले पनि उनकै जोडबलमा सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)बाट विभूषित गरिएको हो । फ्रयानसिसले दिब्याकोे नेतृत्वमा नेपालमा पहिलोपटक मिर्गौला प्रत्यरोपण हुँदा उनलाई मार्गदर्शन गरेका थिए ।

सरकारले दिब्याका कै प्रभावमा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न भारत र सिंगापुरका चिकित्सकहरुलाई समेत पदक दिएको छ ।
संविधान दिवसको अवसरमा सरकारले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका चिकित्सक डा अनन्थरमन भाथसालालाई सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित गर्ने भएको हो । त्यस्तै प्रधानमन्त्रीको ओलीको उपचारमा संलग्न भएको आधारमा भारतको म्याक्स एमएक्स ग्रुप अफ हस्पिटलका अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिसोन्सट्रक्सन, स्पोर्टस् इन्जुरी अफ ज्वाइन्ट रिप्लेसमेन्टका राजीवकुमार शर्मा र एपोलो हस्पिटल दिल्लीका प्रमुख डा हर्ष दुवासमेत सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित हुने सूचीमा छन् ।

प्रधानमन्त्री कै निजी चिकित्सकको हैसियतमा उनलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको अंग प्रत्यारोपण समितिको अध्यक्ष समेत बनाइएको छ । शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि शाहको निकै चाकडी गर्नु परेको र लामो समयपछि मात्र कलेजो प्रत्यारोपणको अनुमति आएको कलेजो प्रत्यरोपणमा संलग्न चिकित्सकहरु अनुभव सुनाउँछन् । दिब्यालाई खुसी पार्न नसक्दा करिब डेढ वर्ष कलेजो प्रत्यारोपणको अनुमति पाउन संघर्ष गर्नु परेको ती चिकित्सकहरुको भनाइ छ । समितिले अस्पताललाई र चिकित्सकलाई अंग प्रत्यारोपणका लागि अनुमति दिएपछि मात्र अंग प्रत्यारोपणको काम अघि बढ्न सक्ने भएकाले दिब्याको भूमिका महत्वपूर्ण रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । लोकसेवाका आयोगका अध्यक्षको नेतृत्वमा गठित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस समिति उपाध्यक्ष सिफारिस समितिमा सदस्यमा पनि दिब्यालाई नियुक्त गरिएको थियो । उनकै कारण सफारिस समितिले आयोगको उपाध्यक्षका लागि दरखास्त हाल्ने उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वाताको समय तालिका पटकपटक सार्नु परेको थियो । Photo Source: Youtube



प्रतिक्रिया दिनुहोस्