Logo

काम नगर्ने ठेकेदारलाई ‘ब्ल्याक-होल’ मा राखेर कारवाही गर्ने चेतावनी



काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाहरु समयमैं सम्पन्न नगर्ने ठेकेदार वा कुनैपनि कम्पनीहरुलाई कालो सुचीमा मात्र होईन ब्ल्याक होलमा राखेर कारवाही गर्न निर्देशन दिएका छन् । ओलीले समयमै काम नगर्ने ठेकेदारलाई राजनीतिक संरक्षण हुँदा देशैभर विकास आयोजना अलपत्र परेको बताए ।

आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठेकेदारलाई हुने राजनीतिक संरक्षण बन्द हुनुपर्ने पनि धारणा राखेका थिए । हालसम्म ठेक्का पाउनेदेखि काम नगरी बस्नेहरुलाई उच्च तहको साजनीतिक संरक्षण हुँदा राज्य संयन्त्र नै निरीह बन्दै आएको उनको भनाइ छ।

 उनले भने,’ठेक्का लिंदा नै नेताको पहुँच दुरपयोग गर्ने, त्यसपछि काम नगरेपनि सरकारी निकायले कारबाही गर्न खोज्दा संरक्षण गर्ने। जसरी माउले छोप्दा चीलले चल्ला उठाउन सक्दैन त्यसैगरी काम नगर्ने ठेकेदार बच्द‌ै आएका थिए, अब त्यस्तो हुँदैन।’ अहिलेसम्म करिब १७ सय आयोजना बिलम्ब भएका छन्।

यस्ता आयोजनालाई एकपटकका लागि समय दिन सकिने उनले बताए। तर यसरी समय दिंदा पनि काम नगरे ‘डार्कलिस्ट’ मा राखिने उनले चेतावनी दिए। ‘काम ढिला हुँदा बढेको लागतमात्र होइन। त्यसका कारण समाजले गुमाएको मूल पनि तिराउनुपर्छ। समयमै काम नगरे ठेकेदारलाई कालोसूचीमात्र होइन डार्कलिस्टमा राख्नुपर्छ’-उनले भने।

अब मन्त्री वा कुनै प्रकारको पावर, भनसुन अथवा आफ्नो मान्छे भन्ने परिपाटीको अन्त्य गर्दै काम गर्नेलाई योजना दिनुपर्ने ओलीको भनाई छ। उनले भने,नेपाली जनताले ठूलो धैर्यताका साथ विकास निर्माणलाई पर्खिरहेका छन् । ठूलो आशा लिएका छन् त्यो मनोभावनालाई कुँडिन दिनुहुँदैन, बहानाबाजी चल्दैन कबुल गरेअनुसारको समय सीमाभित्र हुनुपर्छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्