Logo

‘समयमै काम नगर्नेलाई ब्ल्याक लिष्टमा होइन ब्ल्याक होलमा राखेर कारबाही’ 



काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम नगर्ने ठेकेदार वा कम्पनिलाई ब्लायक लिष्टमा नभई ब्ल्याक होलमा राखेर कारबाही गर्न निर्देशन दिएका छन् । उनले काम नगर्नेहरुलाई छुट नदिइने स्पष्ट पारे ।

राष्ट्रिय योजना आयोगमा आयोजित कार्यक्रममा बोल्दै समयमै काम नगर्नेहरुको कुनैपनि बहानावाजी स्वीकार्य नहुने बताए । समयमै काम नगर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने भन्दै देश समृद्धिको दिशामा तिव्र गतिमा बढ्न चाहिरहेको बताए ।

‘अब समयमै काम नगर्ने ठेकेदार वा कम्पनिहरुलाई कालो सूचीमा मात्र होइन, ब्ल्याक होलमा राखेर कारबाही गर्नु,’ प्रधानमन्त्री ओलीले भने । देशमा पावर, भनसुन, नातावाद र कृपावादको जमाना सकिइसकेको भन्दै त्यस्ता परिपाठीको अन्त गरेर योजना दिनुपर्ने बताए ।

अब मन्त्री वा कुनै प्रकारको पावर, भनसुन अथवा आफ्नो मान्छे भन्ने परिपाटीको अन्त्य गर्दै काम गर्नेलाई योजना दिनुपर्ने बताए । देशमा जतिसक्दो छिटो विकास हुनुपर्नेमा उनको जोड थियो ।

‘नेपाली जनताले ठूलो धैर्यताका साथ विकास निर्माणलाई पर्खिरहेका छन्, ठूलो आशा लिएका छन् त्यो मनोभावनालाई कुँडिन दिनुहुँदैन, बहानाबाजी चल्दैन कबुल गरेअनुसारको समय सीमाभित्र हुनुपर्छ,’ प्रधानमन्त्रीले भने । कबुल अनुसार नगर्ने कारबाहीको भागिदार बन्ने स्पष्ट पारे । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्