Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग रामवरण रुष्ट



काठमाडौं, ६ असोज । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव वर्तमान सरकारसँग रुष्ट छन् । संविधान जारी भएर मुलुक तीन तहको सरकार निर्माण गरेर यसको कार्यान्वयनको दिशामा अघि बढिरेको छ । विस्तारै मुलुकमा राजनीतिक स्थायित्व छाउँदैछ । तर, संविधान जारी गरेका पूर्व राष्ट्रपति यादव भने वर्तमान सरकार र यसको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट छन् ।

स्रोतकाअनुसार दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले अहिलेसम्म आफूसँग भेटवार्ता तथा छलफल नगरेको यादवको गुनासो छ । भेट्नु त परै जाओस प्रधानमन्त्री ओलीले आफूलाई सम्भिँदापनि नसम्झिएको उनको गुनासो छ ।

भर्खरै मुलुकमा धुमधामसँग संविधान दिवस मनाईयो । यो अवसरमा सरकारले देशव्यापी रुपमा आतिशवाजी गर्दै दिवस मनायो । तर, प्रथम राष्ट्रपति यादवलाई सम्झिएन् । यादव सार्वजनिक कार्यक्रममा त्यति निस्किँदैनन् । धार्मिक तथा पुस्तक विमोचनलगायतका केही महत्वपूर्ण कार्यक्रमको उद्धघाट्न गर्न भने अक्कलझुक्कल निस्किँदै आएका यादव सरकारले गरेको बेवास्ताका कारण दुःखी छन् । संविधान दिवसमा प्रधानमन्त्री ओलीले मात्रै होईन, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नसम्झिएकोमा उनी झन् दुःखी छन् ।

अहिले यादव ललितपुर बागडोलस्थित् भाडाको घरमा बस्दै आएका छन् । यो घरमा भाडामा बसेको पहिलो महिनाबाटै उनलाई समस्या भएको थियो । तत्कालिन सरकारले समयमै घरभाडा नबुझाउँदा घरधनीले यादवलाई निकै तनाब दिएको समाचार बाहिरिएको थियो । त्यही भएर होला, यादवले पनि त्यतिबेलै आफूलाई उक्त घरबाट अन्तै सारिदिन तत्कालिन सरकारलाई आग्रह गरेका थिए ।

विद्यादेवी भण्डारी राष्ट्रपतिमा निवार्चित भएकै दिनदेखि पूर्वराष्ट्रपति यादवलाई सरकारले बागडोलस्थित भाडाको घर उपलब्ध गराएको हो । पूर्वराष्ट्रपति यादवले निवासमा खानेपानी, बिजुलीको समेत राम्रो व्यवस्था नभएको गुनासो राख्दै आएका छन् । उनले अग्लो पर्खाल नभएकाले घरमा सुरक्षासमेत नभएको, सुरक्षाकर्मीलाई बस्ने आवासको राम्रो व्यवस्था नभएको जानकारी पनि सरकारलाई गराएका थिए । उनलाई घरमै बसेर शारिरीक व्यायाम गर्नसमेत उक्त घर असहजिलो भएको उनको सचिवालयले जनाएको छ ।

संविधान जारी भएलगत्तै यादवले संविधान जारी भएपनि यसको कार्यान्वयन गर्न निकै कठिन भएको बताएका थिए । दलहरुले संविधान निर्माणको अन्तिम समयमा हतार गर्दा विभिन्न समस्या उत्पन्न भएको भन्दै यादवले संविधान कार्यान्वयनप्रति सुरुवातमै शंका व्यक्त गरेका थिए । त्यतिबेला, यादवले अन्तिम समयमा दलहरुले दुई/चार दिन कुरेको भएपनि केही बिग्रने थिएन भन्ने भनाई राखेका थिए । हुनपनि यादवको भनाई अहिलेपनि दुरशर्दी सावित भएको छ । संविधान दिवसका दिन सिंगो मधेशले यसको विरोध जनाउँदै आएको छ । सरकारमा सहभागी दलले समेत यो दिवसलाई मनाएन् । राजपाले त काठमाडौंमै कालो दिवस मनायो ।

यादवले संविधानमा सबै पक्ष मिलाउन आफूले आग्रह गर्दा दलहरुले आफूलाई अनावस्यक विवादमा तानेको गुनासोसमेत गरेका थिए । यादवले संविधान जारी गरेपछि पटक–पटक भनेका छन्,‘सबै नेपाली स्वतन्त्र भएका छन्, मैले पनि देशलाई जोड्ने काम गरेको छ्ु । तपाईंहरुलाई थाहै छ म पनि धोती कछाड लगाएको मान्छे हुँ तर मैले राष्ट्रपति भएपछि दौरा सुरुवाल लगाएर देशलाई जोड्ने काम गरेको छु,’ यादवले भन्दै आएका छन्,‘यदी मैले त्यति गरिनँ भने यो मेरो उपलब्धिको कुनै अर्थ छैन ।’



प्रतिक्रिया दिनुहोस्