Logo

विदेशी भूमीमा “सिने स्टार अवार्ड”



क्यानडाको टोरन्टोमा “सिने स्टार अवार्ड २०२०” घोषणा गरिएको छ । अवार्ड आयोजकले ५ भदौं राजधानीमा आयोजित एक कार्यक्रममा जनवरीको अन्तिम साता अवार्ड हुने घोषणा गरेको हो ।

हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुने भएको छ । हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले ‘पर्यटन बर्ष २०२०’ लाई लक्षित गरेर क्यानडामा अवार्ड आयोजना गर्न लागेको जनाएका छन् । आयोजकले टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’ मा नेपाली फिल्म र नेपाली पहिचानलाई र्पुयाउने प्रतिवद्धता गरेका छन् ।

अवार्ड जनवरी ३१ तारिखमा नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुन लागेको हो । अवार्डमा १२ विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ । आयोजकले विदेशी भूमीमा अवार्ड आयोजना गर्दा सरकारी अभियान पर्यटन वर्षमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

अवार्ड कार्यक्रमको निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी रहेको छन् । प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् । अवार्ड कार्यक्रमलाई शुभकामना प्रदान गर्न कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पुर्व अध्यक्ष तथा बरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधानलगायत उपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्