Logo

ओलीमाथि प्रचण्डको गम्भिर शंका ! (भिडियोसहित)



काठमाडौं, ६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकार भएको बेला प्रचण्डले यस्तो टिप्पणी गर्नु सामान्य कुरा होईन ।

दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले भने,‘मीठा मीठा कुरा भन्न सजिलो छ। हिजो राजारमहाराजाहरूले पनि विकासका मूल फुटाउने कुरा त गरेकै हुन्। तर भयो अर्कै, भन्ने ठूलो कुरा होइन। के गर्ने भन्ने ठूलो कुरा हो। भन्न त जे पनि सकिन्छ।’

प्रचण्डले अघि भनेका छन्,’आज हामी विशाल पार्टी भएका छौं । यो पक्कैपनि सानो कुरा होईन् । कम्युनिष्ट पार्टीलाई भरोशा गर्ने करोडौं जनता छन् । उनीहरुले भरोशा गरेर, विश्वास गरेर यो ठाउँमा पुर्याएका हुन् । यो सानो कुरा होईन् ।’

उनले नेतृत्वले पनि कम्युनिष्ट आन्दोलन र राष्ट्रकै भविष्यको निम्ति, एकता र स्वाधिनताको निम्ति भनेरै एकता गरेको सुनाए । उनले भने,‘सब पद, प्रतिष्ठा पाउँ, आपसी गुटै गुट, उपगुट बनाउँ भनेर तछाँडमछाँड गर्नको लागि एकता गरेको होइैन् । एउटा नयाँ आदर्शतर्फ जानुपर्छ अब हामी भनेर एकता गरेको हो ।’

उनले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको औंल्याए । तर, अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको पनि शंका व्यक्त गरे । उनले भने,‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्