Logo

इवाखोला राष्ट्रिय प्रसारणमा



फिदिम, ६ असोज । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महीना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिए ।

एक मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत् उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले जानकारी दिए । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुनेछ । हिउँदको समयमा भने तीन मेगावाट मात्रै उत्पादन हुने प्रवद्र्धक कम्पनीले जनाएको छ ।

यस आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । यस आयोजनाको विद्युत्लाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत काबेली वी वान आयोजना स्थलसम्म पु¥याइएको छ । त्यहाँबाट पाँच किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका वडा नं १ दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।

आयोजनाले विसं २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो । तर निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवद्र्धकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन् । आयोजना कूल रु एक अर्ब ६० करोड लागतमा निर्माण सम्पन्न भएको हो । -रासस



प्रतिक्रिया दिनुहोस्