Logo

नयाँ नोट कहाँ कहाँ साट्न पाइन्छ



काठमाडौं,६ असोज । दशैँलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले राजधानीसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ तर बैंकले उपत्यका भनदा बाहिर आफ्ना कार्यालयबाट मात्र नयाँ नोट साट्न पाइने बताएको छ । प्रति व्यक्ति अधिकतम १८,५०० का दरले नयाँ नोट साट्न पाइने जनाएको छ । काठमाडौं उपत्यकाको हकमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक आउनु नपर्ने गरी व्यवस्था मिलाइएको छ ।

उपत्यकाभित्र राष्ट्र बैंकका बाहेक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित सात वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले असोज १० देखि १७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्ने भएको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने हुँदा तोकिएको स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सवैका लागि जानकारी गराएको छ ।

राष्ट्र बैंकले अन्य बैंक तथा सहकारी संस्थालाई पनि नयाँ नोट साट्न पाइने छ । आफ्ना खाता भएका सहकारी संस्थाबाटसेवाग्राहीले नयाँ नोट सजिलै साट्न पाउने भएका छन् ।

त्यस्तै,राष्ट्र बैंकले अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । उपत्यकाको तुलनामा बाहिरी जिल्लाका लागि थोरै स्थानबाट रकम साट्न पाइने भएको छ ।

राष्ट्र बैंकका अनुसार, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ । उपत्यकाबाहिर अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था नभएको जनाएको छ ।

अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । तर, यो वर्षसहकारी संस्थाहरुलाई राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण नगर्ने भएको छ । र राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नयाँ नोट दिनेछ र सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकमा गएर नयाँ नोट लिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्