Logo

दशैंमा गाडीको राम्रो व्यवस्थापन गरेका छौं, सडकको अवस्था सुधारेको खोई ? : महासचिव सिटौला (भिडियोसहित)



काठमाडौं, ६ असोज । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरि गृहकार्यमा जुटेका छौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यसपटक आफूहरुले अनलाईनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरेपनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको सुनाए । उनले भने,‘अनलाईनमार्फत बुकिङ हुनुपर्दथ्यो, तर लाईन बस्नु पर्यो त्यो दुर्भाग्य हो । यातायातमा मात्रै होईन, सबै क्षेत्रमा यही बेतिथि छ, हामीले यो प्रथाको अन्त्य गर्नुपर्छ ।’

उनले अग्रिम बुकिङ हिजोबाट खुलेको सुनाउँदै पहिलो दिन भीड लागेको बताए । तर, आजबाट टिकट काट्दा त्यस्तो भीड नभएको पनि उनले स्पष्ट पारे । उनले यात्रुहरुको चापलाई ध्यानमा राखेर गुल्मी र अर्घाखाँची जाने यातायातको संख्या थप गरिएको पनि जनाए । यातायातसम्बन्धी तीन तहको सरकारले स्पष्ट ऐन नल्याएको, यातायातमा लगानीको सुरक्षा नभएको लगायतका केही समस्या रहेको उनले सुनाए । त्यस्तै, उनले वीमा नीति पनि प्रष्ट हुनुपर्ने माग गरे ।

सिटौलाले दश भन्दा कम मोडलका गाडी आफूहरुले सञ्चालन नगरेको पनि जिकिर गरे । गाडी ठिक छ वा छैन भन्ने कुराको प्राविधिक पक्ष सरकारले हेर्नुपर्ने उनको भनाई छ । उनले भने,‘म दावाका साथ भन्छु, हाम्रा गाडीहरु राम्रै छन् ।’

उनले सडकको स्तरोन्नती गर्नतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘सडकको बारेमा कसले बोल्ने ? गाउँका सडकको त कुरै छोडौं, यहीँ काठमाडौंका सडकको बारेमा कुरा गरौं, सामाखुशीबाट टोखा जाने सडक हिँड्न सक्ने अवस्थामा छैन् ।’ सिटौलाले टिकमा कुनै समस्या नभएको पनि जिकिर गरे । उनकाअनुसार १२ गते घट्स्थापनादेखि फुलपातीसम्म काठमाडौं उपत्यका बाहिर जाने यात्रुको आँधीबेहरी नै आउँछ ।

उनले यात्रुको चापलाई हेरेर आफूहरुले सोहीअनुसारको यातायात व्यवस्थापन गरेको सुनाए । यात्रुहरुलाई दुःख र मार नपरोस भनेर आफूहरु असाध्यै खटेको पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्