Logo

दशैँमा सुरक्षा व्यवस्था : गृहमन्त्रीमाथि चौतर्फी दबाब



काठमाण्डौ । ठूला चाडपर्वका बेला अपराधिक घटना बढ्ने गर्छन् । विशेषगरी चोरी डकैति हुने गर्दछ । दशैँका बेला हुने समस्यामध्ये काठमाण्डौ बाहिरिने यात्रुले यातायातमा पाउने सास्ती पनि उस्तै छ । दशैं, तिहार र छठजस्ता चाडपर्वमा हुने समस्या न्यूनिकरणका लागि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

न दशैँका लागि खोलिएको अग्रिम टिकट बुकिङ व्यवस्थित छ । बसपार्कमा टिकट कट्न पुगेका यात्रुले निकै सास्ती भोग्नुपरेको छ । न कोठा छोडेर गृहजिल्ला जाँदा ढुक्क हुने अवस्था छ । कुन बेला कोठाबाट सामान चोरी हुने हो ठेगान हुँदैन ।

पैसाको धेरै कारोबार हुने चाडपर्वमा नक्कली नोटको डर पनि उस्तै छ । धेरै यात्रु र सवारी साधनको चाप हुने चाडपर्वको समयमा सवारी दुर्घटना पनि धेरै हुने गर्दछ । यस्ता विविध समस्या छन् ।

यससम्बन्धमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापालाई नागरिकले भोग्नुपर्ने सम्भावित समस्याबारे जानकारी गराएका हुन् ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले नेपालमा प्रतिबन्ध लगाइएका भारतीय नोट प्रयोगमा नआउने हुनाले त्यस्ता नोट नलिन नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक २ महिनाका लागि विशेष सुरक्षा योजना नै तय गरिएको पनि जानकारी दिए । उनले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताए ।

गृहमन्त्री थापाले सुरक्षित यात्राका लागि राजमार्गहरुमै सहायता कक्षको स्थापना, बस टिकटमा कालोबजारी र कृतिम अभाव हुन नदिन तथा सडक दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको पनि समितिलाई जानकारी दिए ।

त्यसैगरी सरकारले भारतबाट दशैं मान्न घर फर्किएका नागरिकहरुको सहयताका लागि सीमा क्षेत्रमा पनि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको पनि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्