Logo

सि जिन पिङको विचारको ओली–दाहालद्वारा खुलेर प्रशंसा



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सि जिनपिङको विचारधाराबारे छलफल चलाएर नयाँ बहसको थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा सोमबारबाट शुरु भएको सि जिनपिङ विचारधाराबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारात्मक छलफल कार्यक्रम उद्घाटन गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले यसलाई सुखद् शुरुवात भएको बताएका हुन् ।

नजिकिएको चीनको स्वतन्त्रता दिवसको अवसरमा चिनियाँ जनतालाई बधाई दिँदै ओलील्े चिनियाँ राष्ट्रपति जिनपिङको गरिबी हटाउने योजना सफल होस् भनी शुभकामनासमेत व्यक्त गरे ।

नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै ओलीले नेपाल एक चीन नीतिमा अडिग रहेको बताए । चीन सरकार शक्तिशाली भएर पनि थिचोमिचो नगर्ने देश भएकोले नेपाल सदैव यो नीतिको सम्मान गर्ने प्रधानमन्त्रीको भनाई थियो । उनले चीन विश्वकै ठूलो आर्थिक देशको रूपमा रहेकोले नेपाल चीनसँग सहकार्य गर्न सदैव तयार रहेको र चीनको विकासबाट नेपाली जनता खुसी रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी अनुशासित हुनैपर्ने उल्लेख गर्दै अबका दिनमा कम्युनिस्ट पार्टीको ध्यान युवामा हुनुपर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताए । दुई मुलुकबीचको सम्बन्ध हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पारे । त्यसैगरी नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि ओलीले बताएका छन् ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्प कमल दाहालले बिचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिष्ट पार्टीको औचित्यका प्रमुख आधार भएको बताए ।सी जिनपीङको विचारधाराको रुपमा अघि आएको बेल्ट एण्ड रोड इनिसियटिभ्स बिआरआईले नेपालको सडक विस्तार, कृषिको आधुनिकरणलगायत अन्य क्षेत्रमा पनि फलदायी हुने दाहालको भनाइ छ ।

दाहालले चिनियाँ कम्युनिष्ट पार्टीले संसारमा कुनै शासन व्यवस्थाले दिन नसकेको आत्मसम्मान, गौरव र आर्थिक विकास चिनियाँ जनतालाई दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक स्पष्टता र अनुशासनको बलमा आर्जन गरेको आर्थिक समृद्धिबाट नेपालले पनि सिक्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।

यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले यस्ता विचार गोष्ठीले एक अर्काको अनुभव आदान प्रदान र समाजवाद स्थापनाका लागि सहयोग पुग्ने बताए ।

उक्त विचार गोष्ठी तथा प्रशिक्षण कार्यक्रममा पाँचवटा सत्र रहेको छ । दुई दिनसम्म चल्ने सो छलफलमा दुई कम्युनिष्ट पार्टीको विचारधारा ‘सी जीनफिङ विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको ‘जनताको बहुदलीय जनवाद’बारे खुलेर छलफल हुनेछ ।

गोष्ठीमा सहभागि हुन चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ सोमबार मात्रै काठमाडौँ आएका थिए ।्



प्रतिक्रिया दिनुहोस्