Logo

निधिको दाबी : नेपालमा अब कुनै मधेशवादी पार्टी छैन



धनुषा, ६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा सङ्घीयता र लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत सोमबार नगराइनमा आयोजित आमसभामा उनले सङ्घीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन नचाहेको टिप्पणी गरे ।

उपसभापति निधिले संविधानमा प्रदेश र स्थानीय तहका अधिकारबारे स्पष्ट उल्लेख भए पनि सङ्घीय सरकारले केन्द्रीकृत मानसिकता त्याग्न नसकेको बताए। उनले सरकारले प्रस्ताव गरेको नागरिकता सम्बन्धी विधेयकमाथि समेत असन्तुष्टि व्यक्त गरे। वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर भए काङ्ग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ थियो ।

“नेपालमा अब कुनै मधेशवादी पार्टी छैन । सबैले आ–आफ्नो दलको नामबाट मधेश शब्द हटाइसकेका छन्, साइनबोर्डमा समेत मधेश देखिँदैन । अब आफूलाई मधेशवादी भनेर जनता ठग्ने काम बन्द गर्नुपर्छ”, उनले भने । प्रदेश २ को नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने निधिको धारणा थियो ।



प्रतिक्रिया दिनुहोस्