Logo

मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्बभन्दा ठगी, फिर्ता नगरे सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने



काठमाडौं, ७ असोज । मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्बभन्दा ठगी गरेका छन । कम्तिमा ३ देखि ४३ करोडसम्म ठगी भएको सरकारी अध्ययनले देखाएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा राष्ट्रिय सर्तकर्ता केन्दले मेडिकल कलेजले लिएको शुल्क छानविन गरेको हो । त्यो ठगी नेपाली विद्यार्थीबाट मात्रै भएको हो । अरु देशका विद्यार्थीबाट लिएको शुल्कबारे छानविन गरिएको छैन ।

तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता नगरे सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । हिजो गृहमन्त्री राम बहादुर थापा, शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय संबद्ध पदाधिकारीको बैठकमा विभिन्न मेडिकल कलेजले तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भनि आएको जनगुनासोको सम्बन्धमा छलफल भएको थियो ।

बैठकले तोकिएको शुल्कभन्दा बढी रकम एक महिनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिक रूपमा आह्वान गरेको छ । यसरी तोकिएको एक महिनाभित्र समयसीमामा शुल्क फिर्ता नगरे बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क विसं २०७२ मा तोकिएपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानुनी कारबाही दुवै प्रक्रिया अघि बढाइने बताउनुभएको थियो । बैठकमा शिक्षामन्त्री पोखरेलले गत वर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क लिएका सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको जानकारी दिँदै बढी शुल्क फिर्ता नगरे सोही अनुरूप कारबाही अघि बढाउनु पर्ने प्रस्ताव राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्