Logo

कबड्डी कबड्डी कबड्डी : मन जित्यो, खेल जितेन



काठमाडौं ७ भदौ । ‘मलाई मार । मलाई यही खोलामा फाल्दे । बरु म मर्छु, तँसँग जान्नँ । लान्छस् भने मेरो लास लैजा तर म तँसँग जान्नँ ।’ चार वर्षअघि रिलिज फिल्म ‘कबड्डी कबड्डी’ मा बमकाजी (सौगात मल्ल) सँग भागेर सहर जान लाग्दा वीरकाजी (दयाहाङ) ले मुस्ताङको खोलामा बलपूर्वक रोक्न खोजेपछि आफ्नै सोल्टिनी मैयाँ (रिश्मा) ले मुटु चुँडाउने गरी भनेकी थिई । त्यसपछि वीरकाजीले मैयाँ छोडेर गाउँ फर्कियो ।

निर्देशक : रामबाबु गुरुङ, कलाकार : दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सनविक्रम राई, कर्मा, विजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, रिश्मा गुरुङ, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले

‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टै ठीक छ’ भने पनि वीरकाजीले मैयाँलाई आफ्नो बनाउन यसअघिका दुई भागमा निकै मिहिनेत गर्‍यो । थकाली समुदायमा हकैले पाउने मामा चेली भए पनि वीरकाजी मैयाँलाई प्रेम गरेरै आफ्नो बनाउन चाहन्छ । पहिलो भागमा वीरकाजीको प्रेममा कबड्डी खेल्न सहरिया केटो विवेक आइपुग्छ र मैयाँलाई टप्काएर लैजान्छ ।

जसोतसो विवेकको पन्जाबाट उम्काएर पुनः गाउँ फर्काउन सफल वीरकाजीका लागि त्यसपछि आफ्नै ठूलोबुबाको छोरो बमकाजी भिलेन बनिदिन्छ । मैयाँका नजरमा वीरकाजीलाई नै भिलेन बनाएर । पैसाले पैसा ताने जस्तै आफ्नो मायाले पनि मैयाँको माया पलाउने एकोहोरो सोचमा प्रेम गरिरहेको वीरकाजी ‘कबड्डी’ शृंखलाको मुख्य खेलाडी हुन् ।

दोस्रो भागमा मैयाँले वीरकाजीको मायाको मैदान छोडेर हिँडेपछि यसपटक ‘कबड्डी कबड्डी कबड्डी’ खेल्न नयाँ खेलाडी भित्रिएकी छन्, नयाँ सोल्टिनी काशी (उपासना) । आमाको करकापमा आफ्नो अनिच्छित विवाह छल्न पोखरादेखि मुस्ताङको नौरिकोट नै भागेर पुगेकी सोल्टिनीको जम्काभेट काजीकै बारीको स्याउ खाने क्रममा हुन्छ ।

सुरुवातमा काजीसँग केही बिच्किने दृश्य खेप्न परे पनि काशी विस्तारै ऊप्रति आकर्षित हुन्छे । कारण, काजीको मैयाँप्रतिको एकोहोरो आदर्श प्रेम देखेर । उल्टो काजीलाई नै प्रश्न गर्छे, ‘अहिलेको जमानामा पनि तपाईंजस्तो प्रेमी हुन्छ ?’ मैयाँकै फोटो हेरेर जीवन बिताउने बताइरहेको काजी विस्तारै सोल्टिनीका मायारूपी वाणमा घायल बन्दै जान्छ । त्यसमा मलजल गर्ने बीके (विजय) त छँदै छ ।

‘कबड्डी’ फिल्मलाई निर्देशक रामबाबु गुरुङले कबड्डी खेल नै र संरचना मैदानकै शैलीमा प्रस्तुत गर्दै आएका छन् । रामबाबुको ‘कबड्डी’ को मैदान यसअघि काठमाडौंदेखि मुस्ताङको नौरीकोटसम्म झन्डै चार सय किलोमिटर फैलिएको थियो भने यसपालि मैदान केही खुम्चिएर नौरीकोटदेखि पोखरा र घान्द्रुकसम्म छ ।

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्