Logo

कमलाको पढाईको लागि एलिजाले पठाईन् क्यानडाबाट ४० हजार, ऋषि धमलाले गरे हस्तान्तरण (भिडियोसहित)



काठमाडौं, ७ असोज । चर्चित नायिका एलिजा गौतम धमलाले ११ वर्षीया दोहोरी गायिका कमला घिमिरेलाई पढाईमा सहयोग गर्न भन्दै चालिस हजार रुपैयाँ प्रदान गरेकी छिन् । हाल क्यानडामा रहेकी नायिका एलिजाले आफ्ना पति ऋषि धमलामार्फत उक्त रकम गायिका घिमिरेलाई प्रदान गरेकी हुन् । उनले उक्त रकम आफ्नै कमाई भएको समेत भिडियो सन्देशमा स्पष्ट पारेकी छिन् ।

त्यस्तै, कमलालाई मिडियासामू ल्याउन र उनको कलालाई प्रष्फुटन गर्न सहयोग पुर्याउने अमृत सापकोटालाई पनि दश हजार रुपैयाँ प्रदान गरिएको छ । नायिका एलिजाले कमलालाई १२ कक्षासम्म पढाउने अठोटमात्रै हैन यो बर्षको लागि चाहिने पढाई खर्चबापत आर्थिक सहयोग प्रदान गरेकी छिन् । मंगलबार कुनै तामझाम नै नगरी उक्त सहयोग अर्थात कमलाको एक वर्षको वार्षिक पढाइ खर्च चालिस हजार बरिष्ठ पत्रकार धमलाको हातबाट प्रदान गरिएको हो ।

कार्यक्रममा पत्रकार धमलाले आफ्नी पत्नी एलिजा यतिवेला क्यानडा रहेको सुनाए । उनले भने,‘उहाँ छोरीको हात हाल्नको लागि क्यानडा जानुभएको छ । कमला मेरो टिभी कार्यक्रम जनता जान्न चाहन्छन्मा आएकी थिईन् । त्यतिवेला नै उहाँले कमला नानीलाई १२ कक्षासम्म पढाउने अठोट गर्नुभएको थियो । उहाँ क्यानडा गएर आफूले कमाएको पहिलो रकम, उहाँले हिजो मलाई फोन गरेर भन्नुभएको थियो । र, रकम पठाउनुभयो । त्यही रकम नानीलाई हस्तान्तरणको लागि आज हामी यहाँ जम्मा भएका छौं ।’

धमलाले आफूहरु समाजमा परिवर्तन चाहने बताउँदै भने,‘कमला नानीको जुन प्रतिभा छ, त्यसको हामी सम्मान गर्छौं । उच्च कदर गर्छौं । म त उहाँलाई बहुमुखी प्रतिभाकी धनी भनेर भन्न रुचाउँछु । छोटो समयमा उहाँले लोकभाका र लोकदोहोरीमा जुन किसिमको ख्याँति प्राप्त गर्नुभएको छ, त्यो हामी सबै नेपालीको लागि अनुकरणनीय र उदाहरणनीय काम हो । उहाँमा देशप्रतिको माया छ । त्यतिमात्रै होईन, उहाँमा गीतमा लय, शैली र प्रस्तुति पनि धेरै राम्रो छ ।’

दोहोरी खेल्दा यो क्षेत्रमा दशकौं समय व्यतित गरेका सिद्दहस्त कलाकारसँगपनि अति सरल रुपमा बिना कुनै दबाब प्रस्तुत हुने गरेको र प्रत्युत्तरपनि धेरै राम्रो दिने गरेकोमा धमलाले कमलाको खुलेर प्रशंसा गरे । उनले भने,‘दोहोरीमा जवाफ फर्काउँदा उहाँको शब्द चयनपनि धेरै राम्रो छ । शब्द चयनमा उहाँको अद्धितिय क्षमता छ ।’ समाज र देशले यस्तो प्रतिभालाई सम्मान तथा अभिनन्दन गर्नुपर्ने धमलाको जोड छ ।

उनले अघि थपे,‘यस्तो प्रतिभा विश्वव्यापी रुपमा फैलिनुपर्छ भन्छु म त । किनभने नेपालको गीत र संगितको जुन किसिमको पहुँच र प्रभाव छ, त्यो त विश्वको लागि नै पुँजी हो भन्छु म ।’ उनले कमलालाई आज यो उचाईको सफलताको शिखरमा पुर्याउनको लागि उनको परिवार खासगरी बुवाले धेरै राम्रो भूमिका निर्वाह गरेकोमा धमलाले उनलाई पनि बधाई तथा धन्यवाद दिएका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा उपस्थित् कमलाका बुवाले पत्रकार धमला र आफू एउटै गाउँपालिकाको बासिन्दा भएको सुनाए । तर, कार्य व्यस्तताले आजको भेट भने दोस्रोपटक मात्रै भएको उनले सुनाए । पत्रकार धमलाको पत्रकारिता देश र जनताको हितमा रहेको उनको भनाई छ । उनले भने,‘म उहाँका टिभी र रेडियोमा प्रशारण हुने कार्यक्रमहरु नियमित हेर्छु । मलाई निकै मन पर्छ ।’ पत्रकार धमलालाई देख्दा र भेट्दा आफूलाई निकै रमाईलो लाग्ने पनि उनले सुनाए । सिंगो धादिङवासीले पत्रकार धमलालाई रुचाउने र मान्ने गरेको कमलाको बुवाको भनाई छ ।

कार्यक्रममा गायिका कमला घिमिरेले आफ्नो शिक्षा आर्जनको लागि धमला पत्नी एलिजाले गरेको सहयोगको लागि खुशी तथा आभार व्यक्त गरिन् । उनले भनिन्,‘म निकै खुशी छु । अब मलाई पहिलेजस्तो कापी, कलम किन्न कुनै समस्या हुँदैन् ।’ उनले एलिजाको साथ र सहयोगले नै आफूलाई पढाईमा अब कुनै समस्या नहुने बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग र साथ कायम राखिदिन आग्रह गरिन् ।

उता, गायिका घिमिरेलाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउने अमृत सापकोटाले पनि नायिका एलिजालाई धन्यवाद दिए । उनले भने,‘एलिजाजीले नानीको पढाईको लागि सहयोग गर्छु भन्नुभएको थियो, आज उहाँले यत्रो रकम सहयोग गरेर आफ्नो प्रतिबद्धता पूरा गर्नुभएको छ । हामी निकै आभारी छौं ।’ आफूलाई गरेको सहयोगको लागि पनि उनले एलिजालाई धेरै–धेरै धन्यवाद दिए ।

कार्यक्रममा पत्रकार धमलाले आफ्नी पत्नी नायिका एलिजाको समाजसेवाप्रतिको भावनाको उच्च सम्मान गरे । उनले थपे,‘एलिजाजीले एक नारी भएको नाताले एक प्रतिभाशाली बालिका कमला नानीको लागि उहाँले सहयोग गर्न पाउनु खुशीको कुरा हो पनि भन्छु म । एलिजाजीको सानैदेखि समाजसेवाप्रति जुन दख्खल छ, समाजमा दुःख पाएका खासगरी शिक्षा हाँसिल गर्नबाट बञ्चित भएकाहरुलाई र पिछडिएर बसेका, अन्यायमा परेका, शोषणमा परेका धेरै छन् नि हाम्रो देशमा, ती वर्गहरुको उत्थान, विकार र समृद्धिमा, एजुकेशनमा भन्छु म आमूल परिवर्तन गर्नुपर्छ ।’ धमलाले देशको शिक्षा नीतिमा नै आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

‘देशमा गुणस्तरीय शिक्षाको आवश्यकत्ता छ’–उनले भने,‘कमलालाई हामीले राम्रो शिक्षा दिक्षा दिन सक्यौं, क्वालिटीको शिक्षा दिन सक्यौं भने, धादिङमै बसेर शिक्षा दिन सक्यौं भने, म पनि धादिङमै जन्मिएको व्यक्ति हुँ ।’ धमलाले आफू जन्मभुमि, जन्मदिने आमाबुवा र शिक्षा दिने गुरुलाई आफूले कहिल्यैपनि नबिर्सने बताए ।

आफ्नी चार वर्षकी छोरी एरिका पनि कमलाबाट प्रभावित भएको सुनाउँदै एरिकाले कमलालाई सम्मान तथा माया गर्ने गरेको धमलाले सुनाए । उनले भने,‘एरिका अहिले क्यानडामा छिन् । उनी हात हाल्नको लागि आफ्नी आमासँग त्यहाँ गएकी हुन् । हात हालेरमात्रै आउँछु भनेकी छिन् । उनले पनि यो रकम हस्तान्तरणको लागि मलाई हिजो फोन गरेकी थिईन् । उनको कुरालाई पनि हार्न नसकेर कमलालाई यो रकम हस्तान्तरण गर्न आएको हुँ ।’



प्रतिक्रिया दिनुहोस्